नेपाल पत्रकार महासङ्घ बाँकेको अध्यक्षमा रेडियो नेपालकर्मी नवीन गिरि सहितको टिम निर्वाचित
बाँके । नेपाल पत्रकार महासङ्घ बाँकेको नयाँ नेतृत्वमा रेडियो नेपालकर्मी नवीन गिरी निर्वाचित हुनुभएको छ ।
शुक्रबार सम्पन्न निर्वाचनको शनिबार बिहान घोषणा गरिएको परिणामअनुसार गिरीले ११८ मत प्राप्त गर्दै ४८ मतान्तरले अध्यक्ष पदमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी प्रदीप वाग्लेले ७० मत प्राप्त गर्नुभयो भने अर्का प्रत्याशी विश्वराज पछल्डङ्याले १९ मत प्राप्त गर्नुभएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२/१०२ मत प्राप्त गर्दा सहमतिमा दुवै विजयी उम्मेद्धारले आधा–आधा कार्यकाल सम्हाल्ने निर्णयमा सहमति भएको छ ।
महिला उपाध्यक्षमा करुणा शाह १०२ मत प्राप्त गर्दै सावित्री गिरीलाई एक मतले पराजित गर्नुभएको छ। सावित्रीले १०१ मत प्राप्त गर्नुभएको छ।
सचिवमा कृष्ण ओली १०७ मत ल्याएर ९७ मत पाउने शकील अहमद कादरीलाई पराजित गर्नुभएको छ। कोषाध्यक्षमा सुनिल रेग्मीले १२२ मत ल्याएर विजय मल्ललाई ८३ मतमा सीमित गर्नुभयो।
सहसचिव पदमा रवीन्द्र सिंह ठकुरी र भगतराम थारू निर्वाचित भए भने कार्यसमिति सदस्यमा रजनी योगी, आशा परियार, निर्मला चौधरी, यदुराज मिश्र, सलामत अलि शेष, पहल बहादुर केसी, शम्भु थारू, कृष्णराज अधिकारी, रवीन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सबित्रि विश्वकर्मा, सजन आरसी र धना बिष्ट विजयी हुनुभएको छ ।
महासङ्घको बाँके शाखामा २४२ जना मतदाता रहेकामा २१८ मत खसेको निर्वाचन समितिका प्रमुख शरण कर्माचार्यले जानकारी दिनुभयो। मतगणना शुक्रबार राति ९ बजेबाट सुरु भएको थियो।
प्रतिक्रिया राख्नुहोस्