तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाह न्यूनीकरण गर्न प्रजनन् शिक्षालाई प्रभावकारी बनाइँदै

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा बाल विवाहको प्रतिशत ४२ प्रतिशत रहेको छ । बाल विवाहको दर घटाउनका लागि विभिन्न प्रकारका प्रयास भइरहेको भएपनि बालविवाहमा कमी आउन सकेको छैन ।

खास गरेर अशिक्षा, अज्ञानता तथा गरिबीका कारणले धनुषा सहित मधेश प्रदेशमा बालविवाहको दर उच्च रहेको छ । बालविवाह नियन्त्रण तथा प्रजनन् शिक्षालाई प्रभावकारी बनाउनका लागि मानव सूचकाङ्कको दृष्टिकोणले कमजोर अवस्थामा रहेको धनुषाको वटा ८ पालिकमा सञ्चालनमा रहेको किशोर किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।   

बालविवाह भएपछि चाडै बच्चा पाउने र यसबाट आमा तथा शिशुको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्ने भएकाले नै प्रजनन् स्वास्थ्य विषयमा किशोर किशोरीलाई थप प्रशिक्षित गर्दै जानु पर्ने आवश्यकता रहेकाले ८ पालिकामा कार्यक्रम सञ्चालन गरेको आसमान नेपालका कार्यकारी निर्देशक नवल यादवले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत बाल विवाहको नियन्त्रण, लैङ्गिक हिंसाको नियन्त्रण, किशोर किशोरीलाई शिक्षा दिनुका साथै आर्थिक तथा सामाजिक रुपमा सशक्त पार्दै जाने नीति कार्यक्रमको रहेको छ । यूएस ए आईडीको आर्थिक सहयोगमा आसमान नेपालले सञ्चालन गरेको परियोजनाले काम गर्न थालेपछि ती पालिकाका किशोर किशोरीहरू प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने भएका छन् ।

प्लान ईन्टर नेशनलको समन्वयमा सञ्चालन भएको परियोजनाले  बालविवाह बढी रहेको धनुषाको धनुषाधाम, क्षिरेश्वरनाथ, कमला, शहिदनगर, हंशपुर, मिथिला विहारी, सवैला तथा गणेशमान चारनाथ नगरपालिकामा कार्यक्रम गर्दै आएको आसमान नेपालले जनाएको छ । परियोजनाले दुई वर्ष पालिकाहरूमा काम गरेको र अझै पाँच वर्षसम्म काम गर्ने भएकाले ती पालिकाहरूको स्वास्थ्य संस्थाहरूको सबलीकरणमा मद्दत पुग्ने विश्वास जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको रहेको छ ।

परियोजना कार्यक्रम सञ्चालन भएको पालिकामा १० वर्ष देखि १९ वर्षसम्मको किशोर किशोरीलाई लक्षित गरेर विशेष कार्यक्रम गरिरहेकाले यसले बालविवाह नियन्त्रणमा पनि मद्दत पुग्ने विश्वास धनुषाको हंशपुर नगरपालिकाका प्रमुख एवं मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष प्रदीप कुमार यादवले जानकारी दिनुभयो ।

परियोजनाले ती पालिकाहरूमा स्वास्थ्य शिक्षा, प्रजनन् अधिकार तथा लैङ्गिक हिंसाको विषयमा बजेट राख्नका लागि प्रोत्साहित गर्ने काम गर्दै आएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले प्रजनन् स्वास्थ्यको विषयमा किशोर किशोरीलाई राम्रोसँग प्रशिक्षित गर्न सकेको खण्डमा त्यसले बालविवाह न्यूनीकरणमा ठूलो मद्दत हुने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button