तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाका सभापति लामिछानेलाई आज वीरगन्ज ल्याइयो

वीरगंज । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई आज साझ वीरगन्ज ल्याइएको छ ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न पूर्व गृहमन्त्री समेत रहनुभएका रास्वपाका सभापति लामिछानेलाई आज वीरगन्ज ल्याइएको हो ।

सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको थियो । 

सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामिछानेलाई सोमबार हवाई मार्गबाट पोखराबाट काठमाडौँ लगेर त्यहाँबाट पनि हवाई मार्ग हुँदै बाराको सिमरा ल्याइएर सिमराबाट स्थल मार्ग हुँदै साँझ वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताउनुभयो । सभापति लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको र बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिने प्रहरी नायव उपरीक्षक लम्सालले बताउनुभयो ।

सानो पाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार बिहानै पोखराबाट स्थल मार्ग हुँदै वीरगन्ज ल्याइएको प्रहरी नायव उपरीक्षक लम्सालले बताउनुभयो । दुवै जनालाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै सोमबार बिहान वीरगन्ज ल्याइएको हो ।

जोशी र खनालसँग सरकारी वकिल र प्रहरी अनुसन्धानका अधिकृतले बयान लिने काम भइरहेको प्रहरी नायव उपरीक्षक लम्सालले बताउनुभयो । बयान लिने काम सकिएपछि उनीहरुलाई पोखरा फर्काइने उहाँले जानकारी दिनुभयो ।

सहकारीको बचत दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैङ्कमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो । २०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । 

सहकारी ठगी प्रकरणमा कार्तिक २ गतेदेखि कास्की प्रहरीको थुनामा रहेका सभापति लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही, काठमाडौँ र चितवनका जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button