शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक : गृहमन्त्री लेखक
सुर्खेत । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सुरक्षा स्थितिलाई सुदृढ बनाउँदै अपराध नियन्त्रण तथा कानूनी शासन स्थापनाको सवाल सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।
उहाँले बहुलवाद सहितको बहुदलीय लोकतान्त्रिक संसदीय शासन प्रणालीमा अनुशासित, मर्यादित तरिकाले हरेक व्यक्तिलाई आफ्नो विचार अभिव्यक्त गर्न पाइए पनि अराजकता र सामाजिक सद्भाव बिगार्ने जस्ता कार्य गर्न कसैलाई छुट नभएको स्पष्ट पार्नुभयो ।
उहाँले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई कर्णाली प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय संरचना अनुरूपका कार्यहरूको कार्यान्वयनमा भइरहेको ढिलाइले जनअपेक्षा अनुरूपको परिणाम निकाल्न समस्या भइरहेको बताउनुभयो ।
गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा, नेपाली सेनाका उपरथीद्वय प्रेमध्वज अधिकारी, अनुपजंग थापा लगायत कर्णालीका सुरक्षा निकाय प्रमुख, दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्