तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवारको शिष्टाचार भेटवार्ता

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव महामहिम मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

उक्त अवसरमा शुभकामना आदानप्रदान पश्चात् क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौतीहरू तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भयो । उहाँले भन्नुभयो, ‘ तत्कालीन होनहार संस्थापक नेताहरूले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’ 

उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९औँ शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताउनु भयो । ‘लोकतान्त्रिक प्रणाली, सुशासन र मानव अधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रहरूबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ ’ उहाँले भन्नुभयो, ‘म सार्क लोकतन्त्रको बडापत्र बनाउनु पर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।’

उपराष्ट्रपति यादवले सार्क क्षेत्रका अपार सम्भावनाहरू (स्रोतहरूको उपयोग, जनसांख्यिकीय लाभ, सांस्कृतिक धरोहर) लाई अधिकतम उपयोग गरी क्षेत्रीय समृद्धि सुनिश्चित गर्नुपर्ने बताउनु भयो । ‘क्षेत्रीय सहकार्यलाई जोड दिँदै जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तता र अफगानिस्तानको अनिश्चित भविष्य लगायतका जटिल राजनीतिक परिस्थितिका चुनौतीहरूलाई सामूहिक रूपमा समाधान गर्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो, ‘समृद्धिको दृष्टिकोण मार्फत साझा लक्ष्यहरूको प्राप्तिका लागि सबै सदस्य राष्ट्रहरूले सामूहिक प्रयास गर्नुपर्दछ । अदुरदृष्टि र अन्तर्द्वन्द्वले अन्तत्वगत्वा कसैलाई लाभ नहुने मानव विकासको इतिहासले प्रष्ट पारिसकेको छ ।’

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव महामहिम मोहम्मद गुलाम सरवरले अगामी सार्क चार्टर डेको लागि सबै सदस्य राष्ट्रहरूको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकहरूको विभिन्न चुनौतीहरू मिलेर सामना गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सार्क राष्ट्रहरू सम्पन्न हुन साझा प्रयास जरुरी छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button