लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन
कञ्चनपुर । सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणासहित कञ्चनपुरको लालझाडीमा आयोजित चौथो कञ्चनपुर सम्मेलन–२०८१ सम्पन्न भएको छ । एनएनएसडब्लुए र डीसीएको प्राविधिक साझेदारीमा लालझाडी नगरपालिकाले जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आइतबार चौथो कञ्चनपुर सम्मेलन आयोजना गरेको हो । जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन, उत्थानशील र दिगो विकास बारे विस्तृत छलफलसहित भावी योजना तर्जुमाका लागि सम्मेलनको आयोजना गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा जलवायु परिवर्तनले ल्याएको सङ्कट तथा सृजित विपद्को जोखिम तथा रोकथामबारे छलफल भएको छ । लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले लालझाडी विपद्को उच्च जोखिममा रहेको पालिका हुनाले सरोकारवालाहरू ध्यानाकर्षण गरी विपद् जोखिम न्यूनीकरणका लागि उक्त सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सबै स्थानीय तह, प्रदेश र सङ्घका जनप्रतिनिधि मिलेर जनस्तरमा काम गर्नुको विकल्प नरहेको बताउनुभयो । सुदूरपश्चिममा बाढी, पहिरो, आगलागी, जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरण लगायतका विषयमा प्रदेश सरकार दीर्घकालीन योजना बनाउन केन्द्रित रहेको उहाँको भनाइ छ । प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा (पातल) तथा स्थानीय तहका जनप्रतिनिधिहरूले विपद्को समयमा होस् वा अन्य विकासका काम गर्दा, सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । लालझाडीमा तीन महिनादेखि जङ्गली हात्तीले गरिरहेको क्षतिको विषय, बेलडाँडीमा बाढीको समयमा नहर भत्किँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको विषय, २३ वर्षदेखि आरक्षपीडितहरूले खोलानाला तथा बन जङ्गल किनारमा पीडादायी जीवन जिउनु परेको विषय र विपद्पछि राहत र पुनर्स्थापनामा देखिएका चुनौती जस्ता विषयले पनि सम्मेलनमा प्राथमिकता पाएका छन् ।
सम्मेलनमा सरोकारवालाहरूबिच प्यानलमै संवाद कार्यक्रमहरू समेत गरिएका थिए । सम्मेलनबाट जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जानकारी दिनुभएको छ । २०७८ सालमा भीमदत्त नगरपालिकाबाट सुरुवात गरिएको कञ्चनपुर सम्मेलन २०७९ मा पुनर्वास नगरपालिकामा, २०८० सालमा दोधाराचाँदनी नगरपालिकामा र यस वर्ष लालझाडी गाउँपालिकामा आयोजना गरिएको छ । अर्को वर्ष बेलौरी नगरपालिकामा पाँचौँ कञ्चनपुर सम्मेलन गर्ने गरी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जिम्मेवारी लिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्