तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

झापा । नौ दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिता हेर्नका लागि १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।

त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । छोटो समयमै खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।

यही मङ्सिर २९ गतेदेखि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताका लागि मैदानको झार छाँटेर रङ्गशालालाई पुरानै अवस्थामा पुर्‍याइएको छ ।

झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।

प्रतियोगितामा एक विभागीय, ए डिभिजन, मोफसलका चर्चित टिम र भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button