तपाईँ सुन्दै हुनुहुन्छः

विकासे योजना बाँडिखाने प्रवृत्ति सदा लागि अन्त्य गरिनेछ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै पनि सरकारी विकासे योजना बाँडिखाने प्रवृत्ति सदाका लागि अन्त्य गरिने बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक सेवा प्रवाह एवम् विविध विषय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सत्ता साझेदार दल बद्लिए पनि विकासे योजना नबद्लिने बताउनुभयो । 

मुख्यमन्त्री कँडेलले पहिले कसले, कसरी विकासे योजना वितरण गरे भन्नुभन्दा पनि अब कर्णाली सरकारका जोसुकै व्यक्ति परिवर्तन भए पनि विकासे योजना परिवर्तन नहुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । 

झ्याल अथवा ढोकाबाट योजना ल्याएर बाँडिखाने प्रवृत्ति अब नदोहोरिने गरी नीति तथा कार्यक्रम बनिसकेकाले अनुदान शीर्षकमा रहेका बजेट वितरण प्रक्रियामाथि अहिलेदेखि नै पुनर्विचार गर्न कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । 

सुर्खेतका नौ वटै पालिकाका प्रमुख तथा उपप्रमुखसहित जिल्लास्थित स्थानीय, प्रदेश तथा संघीय कार्यालयका प्रमुख सम्मिलित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले कुनै पनि प्रदेशबाट पालिकामा जाने कार्यक्रम तथा योजना पालिकालाई पूर्व जानकारी दिएर मात्र लैजान समेत आग्रह गर्नुभयो । 

उहाँले दिन बिताउने गरी होइन, परिणाम निस्किने गरी अहिलेदेखि नै पूँजीगत खर्च बढाउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

उहाँले अतिरिक्त शुल्क दिएर ठेक्कापट्टा मिलाई दिन्छु, काममा ढिलासुस्ती आलटाल गर्ने जोसुकै सार्वजनिक संस्था तथा कार्यालयले गरेको पाइएमा कानून कारबाही हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button