कर्णालीमा आन्तरिक उडानपछि लुम्बिनी प्रदेश धाउने बाध्यता हट्यो
जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा आन्तरिक हवाई उडान सुरु भएपछि आफ्नै प्रदेश राजधानी पुग्न लुम्बिनी प्रदेश जानु पर्ने कर्णालीवासीको बाध्यता हटेको छ । बुधबारदेखि कर्णालीको राजधानी सुर्खेतबाट हिमाली जिल्ला जुम्ला,मुगु र हुम्लामा आन्तरिक हवाई उडान सुरु भएको हो ।
कर्णाली प्रदेश राजधानीबाटै आन्तरिक उडान सुरु भएपछि सुर्खेतमा बसोबास गरिरहेका हुम्ला, मुगु र जुम्लाका विद्यार्थी र स्थानीय उत्साहित बनेका छन् । यसअघि साविक कर्णालीका कर्मचारीदेखि सर्वसाधारणलाई अत्यावश्यक कामका लागि आफ्नै प्रदेश राजधानी सुर्खेत जानका लागि छिमेकी लुम्बिनी प्रदेश भएर जानु पर्ने बाध्यता थियो ।
सङ्घीयता कार्यान्वयनपछि स्थानीयतहका गोष्ठी, सेमिनारहरू प्रायः प्रदेशमै हुने गरेका छन् । कर्णालीमा आन्तरिक उडान नहुँदा लुम्बिनी प्रदेश भएर कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनु पर्ने नियति जस्तै बनेको थियो ।
तर साविक कर्णालीका नागरिकको समस्यालाई मध्यनजर गर्दै तारा एयरलाइन्सले बुधबारदेखि जुम्ला, मुगु र हुम्लामा नियमित उडान सुरु गरेपछि लुम्बिनी प्रदेश धाउनु पर्ने बाध्यता हटेको हो ।
सुर्खेतबाट र कर्णालीका हिमाली जिल्लामा हवाई उडान सुरु भएपछि निकै राहत स्थानीय बासी बताउँछन् । जुम्लाका स्थानीय हरिसिंह बुढा भन्छन्,‘आन्तरिक उडान नहुँदा आफ्नै प्रदेश पुग्न पनि महँगो खर्च गरी नेपालगन्ज जानु पर्ने बाध्यता भोग्यौ । अब सुर्खेतबाटै उडान हुने भएपछि सहज हुने अपेक्षा छ ।’
आन्तरिक उडान भएकोमा कर्णालीवासी खुसी भएपनि टिकट वितरण प्रक्रियालाई पारदर्शी बनाउनु पर्नेमा नागरिक अगुवा प्रेम बहादुर अधिकारीले जोड दिनुभयो । पहुँचकै भरमा टिकट दिने प्रवृत्तिको अन्त्य नभए सम्म नागरिकले राहत महसुस नगर्ने उहाँको भनाई छ ।
तारा एयरले हरेक हप्ताको बुधबार र शनिवार सुर्खेतदेखि जुम्ला,मुगु र हुम्लामा उडान भर्ने तारा एयरलाइन्स नेपालगन्जका स्टेसन इन्चार्ज सूर्यमणि सुवेदीले बताउनुभयो । उहाँका अनुसार हिमाली टुर्स एण्ड ट्राभल्सले कर्णालीका तीन जिल्लामा हवाई उडानको जिम्मा पाएको छ ।
सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ । नेपालगन्जबाट महँगो भाडा तिर्न बाध्य कर्णालीवासीलाई आर्थिक रुपमा समेत कम भार पर्ने छ ।
जुम्ला, मुगु र हुम्ला कर्णालीका पर्यटकीय जिल्ला पनि भएकोले आन्तरिक उडान सुरु भएपछि कर्णालीको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । कर्णालीमा आन्तरिक उडानपछि पर्यटन प्रवर्द्धन,आउजाउमा सहजदेखि हरेक हिसाबले राहत हुने हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मीनबहादुर रावल बताउनुहुन्छ । हाल तीन जिल्लामा उडान सुरु भएको र डोल्पा जिल्लामा पनि उडान गर्ने गरी तयारी भइरहेको उहाँको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्