तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले निरन्तर जनताको मर्म अनुरुप काम गरिरहेको छ : मन्त्री मास्के 

एकैपल्ट चार आयोजनाको उद्घाटन

काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले प्रदेश सरकारले निरन्तर जनताको मर्म अनुरुप काम गरिरहेको बताउनुभएको छ ।  

सिन्धुलीको तीनपाटन गाउँपालिका बेलघारी बजारमा आज आयोजित एक कार्यक्रममार्फत एकैपल्ट चार वटा आयोजनाको उद्घाटन गर्नुहुँदै मन्त्री मास्केले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताउनुभयो ।

“हामी विकास निर्माणका काममा तल्लीन छौँ, विकास निर्माणको कामलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो । उहाँले पूर्वाधार क्षेत्रहरू स्पष्ट गर्दै अबको पूर्वाधार विकासलाई सय वर्ष पछिसम्मको आवश्यकता हेरेर गुणस्तरीय निर्माण गर्नुपर्ने बताउनुभयो । “प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र मन्त्रालयको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रूपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, मन्त्री मास्केले भन्नुभयो ।  

मन्त्री मास्केले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निमार्ण गरेको सिन्धुली–भिमस्थान–चकमके–उदयपुर कटारी सडक, लङ्गर खोला पक्की पुल, नेपाल रेडक्रस सोसाइटी वेलघारी उपशाखा भवन र भिमस्थान बेलघारी शहरी सडकको आज उद्घाटन गर्नुभएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुली र शहरी विकास तथा भवन कार्यालय सिन्धुली अन्तर्गत निमार्ण सम्पन्न भएको लङ्गुर खोला पक्की पुल निमार्ण अन्तर्गत ४ करोड २२ लाख ९ हजार२६८ रुपैयाँ लागतमा ८.४० मि को पुल निमार्ण सम्पन्न भएको हो ।

त्यस्तै सिन्धुली– भिमस्थान–चकमके–कटारी सडक ९ करोड ५६ लाख ५१ हजार ९०४ रुपैयाँ लागतमा ३.७६ कि.मि. सडक सम्पन्न भएको छ भने नेपाल रेडक्रस सोसाइटी वेलघारी उपशाखा भवन ६५ लाख ८२ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव अमृत श्रेष्ठ, जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button