तपाईँ सुन्दै हुनुहुन्छः

कालजयी कृति र स्वरसम्राट नारायण गोपाल । 

काठमाडौँ । स्वरसम्राट नारायण गोपालका बारे लेखिएको यस लेखलाई कृति समीक्षा र संस्मरण मुख्य रूपमा दुई भाग गरेर लेख्ने जमर्को गरिएको छ । सबैभन्दा पहिला संस्मरण, स्वभाव, आनीबानी अर्थात् रुचि । त्यसपछि क्रमशः उनका गीत–सङ्गीत, लेखन, सम्पादन, स्रष्टा–सर्जकसँगका सम्बन्धबारे लिपिबद्ध गर्ने प्रयास गरिएको  छ ।

संगत–संस्मरण:

निक्कैअघि गीत–गायनका माध्यम (रेडियो नेपाल)बाट सुनिएका नारायण गोपाललाई मैले २०३६ सालमा मात्रै भौतिक रूपमा भेटेँ । जुन बेला म नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सङ्गीत प्रशिक्षार्थी समूहमा छनौट भएको थिएँ । गायन, वादन, नाटक र नाच गरेर बीसजना प्रशिक्षार्थी (तालिमे) थियौँ हामी । त्यो सङ्गीत प्रशिक्षणको अवधि (२०३६–३७) एक वर्षको थियो । त्यहीबिचमा प्रज्ञा–प्रतिष्ठानले त्यसबेलाका उपकुलपति माधव घिमिरेकृत ‘शकुन्तला’ र ‘मालती–मंगले’ गीति–नाटकको रेकर्डिङ प्रतिष्ठानको प्रेक्षालयमैं  गराएको थियो । 

‘शकुन्तला! गीति–नाटकको सङ्गीत नेपाल कला भूषण चन्द्रराज शर्माको र ‘मालती–मंगले’ गीतिनाटकको सङ्गीत अम्बर गुरुङको थियो । नारायण गोपाल उक्त गीति–नाटकको प्रमुख पात्रको निम्ति मुख्य पाश्र्व गायक थिए । अरू गायक/गायिका प्रतिष्ठानकै जागिरे कलाकारहरू थिए । अरू प्रशिक्षार्थीझैँ म पनि बिहान ७ बजेदेखि ११ बजेसम्म तालिम लिन हाजिर हुन्थेँ । दिउँसोको रेकर्डिङमा आउने गायक÷गायिका र नृत्याभिनय गर्ने कलाकारहरूसँग भेटघाट हुन्थ्यो । त्यस क्रममै अग्रज गायक नारायण गोपालसँग बलियो परिचय भएको थियो ।

त्यसपछिका रेकर्डमा ‘ब्लु नोट्स्’ डिष्क रेकर्डमा धेरै वाद्यवादहरूका साथ हाम्रो सहभागिता सधन हुँदै गयो । हुन पनि नारायण गोपालका गीतहरू रेडियो नेपालबाहेक रत्न रेकर्डिङ, चलचित्र संस्थान र म्युजिक नेपालमा पनि रेकर्ड हुन थालेका थिए । प्रज्ञा भवनको ठूलो प्रेक्षालयमा पनि गीत रेकर्ड हुन्थ्यो । अहिले यसो भन्दा  कथाजस्तै लाग्न सक्छ ।  

स्वभाव, आनीबानी:

गीति–नाटकको भेटघाटले अग्रज नारायण गोपालसँग मलाई नजिक पुर्‍यायो । म मज्जैले झ्याम्एिको थिएँ –अह्राएको मान्ने एक अनुजको रूपमा । दिउँसो गीत रिहर्सलको मध्यान्तर हुँदा कहिले चिया–खाना खानु, कहिले चिसो लिम्का, सोडा र तरल पदार्थ खानु मलाई बोलाएर कमलादी गणेश स्थानको भित्री पसलमा लिएर जानु गर्नाले पनि मैले उनको स्वभाव के कस्तो छ भनेर जान्न पाएँ । सोडा–वासा मिलाएर खाएको पनि याद छ । तर मलाई कहिल्यै अफर गरेनन् उनले । खुलेर कुराकानी गर्ने, जोग भन्ने उनको बानी थियो । परिहासका कुराहरू धेरै हुन्थे । चुरोट त खाली भयो कि सल्किहाल्थ्यो चेन स्मोकरजस्तै । म त यसै पनि अनुज, सिधा प्रशंसक थिएँ नै । म बाहेक मधु क्षेत्री, द्वारिकालाल जोशी र फत्तेमान राज भण्डारीचाहिँ अझै सबै कुराले निकट थिए । 

प्रायः मानिसले नारा गोपाललाई अहङ्कारी, सन्काहा भनेको मैले सुनेको छु । तर मेरा अनुभवमा कहिल्यै त्यस्तो देखिनँ, भोगिनँ र पाइनँ पनि । खानपान र पिकनिक जानुपर्छ है भनेको अहिले पनि याद आउँछ । अति सजिलो स्वभाव थियो । म दाइ भनेर सामान्य ढंगले नै सम्बोधन गथेँ । उनले मलाई कहिलेकाहीँ तिमी भने तापनि प्रायः तँ (टँ नेवारी टोनमा) नै भनेको अझै म बिर्सन्न । त्यसमा अपनत्व, मिलाप र पूर्ण रुपमा मिठास हुन्थ्यो ।  

त्यही छत्तीस–सैँतीस सालकै बीचमा ‘टीयू ब्याण्ड’ (त्रिविविका एम.ए. पढ्ने विद्यार्थी)ले गरेको साङ्गीतिक कार्यक्रमका प्रमुख गायक नारायण गोपाल, लोकगायक लालबहादुर खाती आदि थिए । साथै टीयूकै विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुति पनि थियो । कार्यक्रम संयोजक निसुम छाङ दाइ (नन्दराज राई) भएकाले मैले सजिलै गरी कार्यक्रममा सहभागी हुन पाएको थिएँ । लोकगायक लालबहादुर खातीको प्रस्तुतिमा पनि दर्शकादि होहल्ला गर्दै थिए । कोही कोही आउट आउट पनि भन्दै थिए । उनले पनि दर्शकतर्फको आउट भन्नेलाई बाजा रोकेर को आउट भन्ने ? भनेर थर्काएका थिए भने नारायणगोपालले गीत गाउन रोकेर हल्ला शान्त भएपछि ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ’ भन्ने प्रिल्युड स्वर प्रक्षेपण गर्दा दर्शक दीर्घाको समर्थन ताली दुई–तीन मिनेटसम्म बजेको थियो । 

आज त्यस्तो स्वर समर्थक र सङ्गीत अनुरागी दर्शक कहाँ पाइन्छ ? विद्यार्थीहरूले गरेको कार्यक्रममा त्यत्ति शान्त र संयमित थिएन । अन्य कलाकारले गीत गाउन थालेपछि पुनः एक जनाले ज्यादै होहल्ला गर्दै हुँकार गरेकाले बज्दै गरेका बाजागाजा रोकेर सर्टका बाउला सुर्किँदै ‘लु आइज को को लड्ने ? भनेपछि हल शान्त भएको थियो । एक कलाकारले बेहोर्नुपर्ने अप्रत्याशित घटनाहरू अनेक हुन्छन् । त्यस दिनको कार्यक्रम उनले नै शान्त परेर सुचारु भएको थियो । 

तीस र चालीसको दशकभित्र त्यति नेपाली चलचित्र बन्दैनथे । बरु नाटक, गीति–नाटक आदि बन्थे र प्रदर्शन हुन्थे । प्रज्ञा भवन कमलादीमा ‘रातको प्रथम प्रहर’ पूर्णाङ्की नाटक, ‘सिम्मा’–गीति–नाटक, चर्चित गीतिनाटक ‘मालती–मङ्गले’को गीत रेकर्ड हुँदै थियो । त्यसक्रममा नारायण गोपाल दैनिक प्रज्ञा भवन धाउने गर्दथे । म दिउँसो प्रज्ञा भवन पुग्ने नारायण गोपाल पनि गीत गाउन आउने, भेट सधैँ हुन्थ्यो । सङ्गीत संयोजनको अभ्यास मन नपरेपछि उनी ‘ए हिँड’ भनेर मलाई सङ्केत गर्दथे । म उनको सुरक्षा कवचजस्तो पछिपछि लाग्थ्येँ र हामी उही पुरानो भित्री–नास्ता पसलमा छिर्थ्यौ । 

अलिकपछि कहिलेकाहीँ रेडियो नेपाल आएर नातिकाजी, शिवशङ्कर दाई द्वयसँग भेटेर गफ गरेपछि भक्तराज आचार्य, द्वारिकालाल जोशी, भैरवलाल जोशी, पाण्डव सुनुवार, केवल सुब्बा, राम थापा, सुधीर क्षेत्री, शिशिर क्षेत्री, जेबी लामा र म लगायतसँग उनी गफिन्थे । जोक भनेर उल्का हँसाएर फर्किन्थे । तर आफू आवाज दिएर कहिल्यै हाँसेको मैले देखिनँ । हाँस उठ्यो भने मुख बाङ्गो पारेर मुस्कान दिने स्वभाव थियो उनको । त्यसो गर्दागर्दै उनको मुख अलिक एकापट्टि मोडिएको हो कि ? जस्तो मलाई लाग्छ । आज पनि हामी उनका तस्बिरमा त्यो छाया–छवी झल्किएको देख्न सक्छौ । 

एकपटक नेपालगञ्जको ‘नारायण गोपाल साङ्गीतिक साँझ’ सकेर बुटवलको कार्यक्रमका लागि  जिप अगाडि बढ्यो । दिउँसो हुँदै गएपछि उनले खुट्टा दुख्यो भनेर यात्राभरि करकर गरिरहे । बुटवल पुगेपछि सबै होटलको लबीमा आराम गर्न थाले र आफूले लगाएका जुत्ता खोल्न थाले । उनले पनि जुत्ता खोल्दा थाहा भयो दाहिनेको देब्रे र देब्रेको दाहिने पो परेको रैछ । यस्तो हर्कत कसैको पनि हुँदैन होला । ठूलो हाँसो र जोक्स भएको थियो । त्यस प्रकारका साङ्गीतिक यात्राकोसम्झना धेरै धेरै छन् मसँग । 

सङ्गीत–सुरकर्मीहरूसँगका सिर्जना–सम्बन्ध:

नारायणगोपालले सिर्जनागत साथ–संगत गरेका सुरकर्मीहरू नातिकाजी, शिवशङ्कर, फत्तेमान, प्रेमध्वज, माणिकरत्न, मधु क्षेत्री, भेरवनाथ रिमाल, भूपी शेरचन, नगेन्द्र थापा, ईश्वरबल्लभ, भीम विराग, सी.के.रसाइली, अम्बर गुरुङ, हरिभक्त कटवाल, कालीप्रसाद रिजाल, गोपाल योञ्जन र दिव्य खालिङ हुन् । यसो त यादव खरेल, नीर शाह, रञ्जीत गजमेर, शम्भुजीत बासकोटा, विश्वम्भर प्याकुरेल, चन्दन लोमजेल आदि सङ्गीतकर्मीसँग पनि उनको सिर्जनशील उठबस राम्रै चल्यो । कालजयी कृतिहरू पनि बने । जसले आज नेपाली सङ्गीत जगतमा सुकीर्तिमय गुञ्जन चलिरहेकै छ । जसलाई हामी लोकप्रिय अनि चर्चित भनेर चिन्दछौँ । 

नातिकाजी र नारायण गोपाल त त्रिचन्द्र कलेज पढ्दा सहपाठी नै थिए । तारादेवी, दिलमाया खाती, अरुणा लामा, मीरा राणा, ज्ञानु राणा, आशा भोष्ले आदि नारी सुरकर्मीसँग थुप्रै युगल गीत गाएका छन् उनले । जसले नर–नारी गायनको प्रभावशाली छाप छोडेको छ । किनभने कुनै बेला यस्तो थियो कि पुरुष नै नारीको भेष धारणगरी रङ्गमञ्चमा निस्किनु पर्थ्यौ । विश्वकै इतिहास हेर्ने हो भने पनि कुनै समय बेलायतमा पुरुषको गला अप्रेसन गरी नारीस्वर निकालिन्थ्यो र गाउन लगाइन्थ्यो । 

विकास वा समाज रूपान्तरले सबै क्षेत्र र विषयको ढोका उघारिँदै रहेछ । पहिलो विश्वयुद्धपछि इष्ट–इन्डिया कम्पनीले कलकत्तामा व्यापारिक धेयले खोलिएका कतिपय ‘हिज मास्टर्स भ्वाइस’, ‘कोलम्बिया रेकर्ड’, ‘हिन्दुस्थान रेकर्ड’, ‘कोहिनुर रेकर्ड कम्पनी’ आदि सङ्गीत संस्थाले गीतहरू लाहाछाप रेकर्डमा ल्याउन थालेपछि नेपाली आधुनिक गीत–सङ्गीततर्फ सौखिन र रौसे सङ्गीतकर्मीहरू त्यसतर्फ होमिएका थिए । जुन कार्यले मास्टर सेतुराम, ठुमरीकी रानी मेलवादेवी, मास्टर मित्रसेन, उस्दात बालाप्रसाद शर्मा आदि अगुवा नेपाली सुरकर्मीलाई नेपाली गीत–सङ्गीतको उन्नयनमा उदात्त गरायो । यही क्रमको निरन्तरता ओजिलो स्वरका धनी नारायणगोपालले गरेका हुन् । 

उबेला कलकत्ता नेपाली गीत–गायनका लागि एक समयको इपिसेन्टर बन्यो । जहाँ नेपालबाट मास्टर रत्नदास प्रकाश, धर्मराज थापा, उस्ताद साहिँला, कलानाथ अधिकारी, उस्ताद दलबहादुर, मानवीर राना, केदारनरसिंह राणा, एकराज शमशेर जबरा, उस्ताद गोविन्दलाल आदि, दार्जिलिङबाट हाजिरमान राई, एस. रविदास, अशोक राई आदि सुरकर्मी पुगेर आ–आफ्ना सङ्गीत कृति डिष्क रेकर्ड शहर–बजारका श्रोतामाझ ल्याउन सफल भए । यो सफलता र सम्मोहनलाई नेपाली बजारले मात्र थाहा पाएन कि दरबारीया सौखिनहरूले पनि हतेसो बनाउने प्रचेष्टा राखे । जसको फलस्वरूप नेपालमा रत्न रेकर्डिङ संस्थान सरकारी तौरबाट खुल्यो भने निजी रूपमा संस्थाहरू खुल्न थाले । 

नारायण गोपाल घराना:

पूर्वीय होस् या पाश्चात्य सङ्गीतको शैली, पारा वा ढाँचा हुन्छ, जसलाई पूर्वीय सङ्गीत शास्त्रले घराना भन्ने गरेको छ । त्यो एउटा स्कुलिङ हो । परम्परा हो । परम्परा मात्र नभएर त्यसको अभ्यास र शैली निरन्तरता पनि हो । खास भन्नुपर्दा नारायण गोपालका बाबु आशा गोपाल गुरुवाचार्य ‘सेनी घराना’का थिए । उसो त नारायणगोपालको आमा राममाया गुरुबाचार्य पनि सङ्गीतको सौखिन र अनुरागी थिइन् । सेनी घराना भनेको सितार वादनको ‘तानसेन घराना’ हो । जो अकबर बादशाहका नौरत्न मध्येकै एक थिए । आशा गोपाल कुशल सितार वादक मात्र थिइनन् सङ्गीतको गहिरो ज्ञाता–अध्येता पनि थिए । तानसेनले गाउँदा वा सितार बजाउँदा राग ‘मेध–मल्हार’ भए तुरुन्तै पानी पर्दथ्यो भन्नेजस्ता मिथक पनि पूर्वीय शास्त्रीय सङ्गीत जगतमा अझै रहेको पाइन्छ । उनै आशा गोपालले नारायण गोपाललाई पहिलो सङ्गीत शिक्षण–प्रशिक्षण दिएका थिए । यस अर्थमा नारायण गोपाल ‘सेनी–घराना’का भनिएका हुन् । 

हुन त नारायणगोपालले बडोदा सङ्गीत समितिमा पनि शास्त्रीय गायनको केही समय स्वराभ्यास वा कसरत गरेका थिए । त्यसलाई उनले लामो समयसम्म अनुलोम–विलोम गरेनन् । र घुम्दै–फिर्दै दार्जिलिङ पुगे । जहाँ गोपाल योञ्जन, नगेन्द्र थापा, ईश्वरबल्लभ, पेमला लामा आदिसँग सम्बन्ध बिस्तार भयो । र अर्को साङ्गीतिक मूलबाटोमा उनी पुगे । जसको प्रतिफल गोपाल योञ्जनसँगका प्रभावशाली सिर्जना एवम् साङ्गीतिक सहकार्य उल्लेखनीय रहेको छ । 

केही गीत–सङ्गीत–सहित नारायण गोपाल  

दुइटा फूल देउरालीमा सँगै राख्यौँ जस्तो लाग्छ 

कतै टाढा जाँदाखेरी सँगै हिँड्यौँ जस्तो लाग्छ  । – ईश्वरबल्लभ । 

नेपाली आधुनिक सङ्गीत क्षेत्रका महान् गायक अर्थात् जनताका प्रिय कलाकार नारायण गोपाल  मृत्यु भएको तीनदशक बढी भइसक्यो । उनले नेपाली आधुनिक सङ्गीतको सिर्जनशील–युगको एकछत्र नेतृत्व पनि गरेको थिए । साथै सुगम–सङ्गीतको पाठशाला (स्कुलिङ) पनि उनैले निर्माण गरेको मानिन्छ । यसै युगभित्रै सुगम–सङ्गीतका स्रष्टाहरू पुष्प नेपाली, बच्चुकैलाश, नातिकाजी, शिवशङ्कर, अम्बर गुरुङ, गोपाल योञ्जन, तारादेवी, कोइलीदेवी, प्रेमध्वज, फत्तेमान, अरुणा लामा, भक्तराज आचार्य, दीप श्रेष्ठ, योगश वैद्य, मीरा राणा आदि सुरकर्मीहरू उदाए । तर नेपाली सङ्गीत क्षेत्रका अग्रज–अगुवा कलाकारहरू एकपछि अर्को महाप्रस्थान हुँदा नमिठो शून्यता अनुभूत गरिरहेको छ नेपाली गीत–सङ्गीत क्षेत्रले । 

मैले गाएको गीतमा तिम्रै रसिलो प्यार छ 

मैले लाएको प्रितमा तिम्रै हँसिलो मुहार छ । –भूपी शेरचन । 

प्रेम–माणिकको सङ्गीतमा  ‘आँखाको भाका आँखैले’ र ‘स्वर्गकी रानी मायाकी खानी’ प्रथम स्पूल (फिता) रेकर्ड भएका गीतहरू मानिन्छन् भने ‘सबलाई रिझाऊ भन्दा पसलमा बेचिएछु’ र ‘सानै हुरीमा बैशको सपना’ प्रसारण समयमै लाइभ रेकर्ड भएका गीतहरू थिए । लामै समयसम्म गायन क्षेत्रमा वर्चश्व कायम राख्न सफल नारायण गोपाल गीत–सङ्गीतको गरिमा, मर्म र उचाई बढाउने थोरै सङ्गीतकर्मी मध्यका एक थिए ।

गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला 

एक्लै तिमी नआऊ म मातिएको बेला । – गोपाल योञ्जन । 

नारायणगोपालको बौद्धिकता र विद्वान विशेषसँगको सहचरणले एक आदर्शवादी व्यक्तित्वको रूपमा मात्र होइन ‘बागीना’ नामक साङ्गीतिक पत्रिकाको प्रकाशक–सम्पादक बन्नेसम्मको स्थितिमा समेत उनलाई पु¥याएको थियो । सत्ता र शक्तिसँग साझेदारी वा सम्झौता नगर्ने व्यक्तिका रूपमा पनि उनलाई लिने गरिन्थ्यो बेला । विशेषतः गोपाल योञ्जन, नगेन्द्र थापा र नारायणगोपालको सिर्जनात्मक त्रिवेणी नेपाली सङ्गीत क्षेत्रले नबिर्सने साङ्गीतिक सङ्लो नदी थियो । 

बिर्सेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ

निको भइसकेको पुरानो त्यो घाउ अनायासै फेरि बल्झेर दुःख्छ । –नगेन्द्र थापा ।  

भाषा साहित्यका माध्यमबाट मात्र होइन, गीत–सङ्गीत र गायनका माध्यमबाट पनि नेपाल र दार्जीलिङको झोलुङ्गे पुल बनेको थियो नारायण गोपाल युगमा । हुन त अम्बर गुरुङ र अगमसिंह गिरीका साङ्गीतिक कृति र सुकीर्तिले त्यसभन्दा पहिलेनै खनिसकेको गोरेटोलाई पनि हामी भुल्न सक्दैनौ यसबेला । यद्यपि, नवीन बर्देवा, अशोक राई, हिरादेवी वाइबा, कर्म योञ्जन, दिलमाया, कुमार सुब्बा, रन्जित गजमेर, बद्री–दुर्गा खरेल आदि कलाकारहरू पनि साङ्गीतिक मूल मेसोमा जोडिने क्रम जारी नै थियो । यही क्रममा आसाम क्षेत्रबाट सी.के. रसाइली, आरती नेवा, आदि नेपाली सङ्गीतको मूल प्रवाहमा समाहित हुनुले नारायण गोपालसँग गाँसिएर भिन्न शैलीको नेपाली सङ्गीत सिर्जना हुन थाल्यो । 

तिमीलाई भुल्दा म एक्लो परेछु 

तिमीलाई सम्झेँ तिमी याद आयौ । – कञ्चन पुडासैनी ।  

सन् १९८५–८६ पछि नारायण गोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको साङ्गीतिक ट्राइपोर्ट (त्रिखुट्टी) अष्पृष्य रूपमा भाँचिन गयो । फलस्वरूप नारायणगोपालले निजी रूपमा ‘द ब्लु नोट्स’ नामक एलपी डिष्क रेकर्ड दिव्य खालिङ, शम्भुजीत बासकोटा र आफ्नै सङ्गीतमा प्रकाशनमा ल्याएका थिए । जसबाट नारायणगोपालले सिर्जनामा स्वतन्त्रता र स्वतन्त्र व्यक्तित्व निर्माण गर्न खोजेको देखिन्छ । 

मलाई नसोध कहाँ दुःख्छ घाउ 

म जे छु ठिकै छु बिथोल्न नआऊ । – हरिभक्त कटुवाल । 

‘द ब्लु नोट्स’ पछिका दिनहरू नारायणगोपालको साङ्गीतिक व्यवहार व्यावसायिक सङ्गीतमा पनि अगाडि बढेको देखिन्छ । जसबाट उनले आर्थिक उपार्जन गर्ने मनसुवा राख्न खोजेको हुनसक्छ । केही हल्का मनोरञ्जनात्मक नेपाली चलचित्रका, केही गीति क्यासेटका तथा नेपाल टेलिभिजनमा एकल गायनको आरम्भ पनि नारायण गोपालदेखि नै सुरु हुन्छ । सुगम सङ्गीतका हकमा गायन–सङ्गीतलाई व्यावसायिक तुल्याउनुपर्छ भन्ने हेतु उनैले राखेको पाइन्छ । नत्र उनले रूपरेखा सङ्गीत यात्रादेखि दार्जिलिङ–डुवर्ससम्मको एकल गायन यात्रा किन गर्दथे होला । डुवर्सको साङ्गीतिक जल्सामा गायक भक्तराज आचार्य पनि सामेल थिए । जतिबेला गायक भक्तराज आचार्यले नेपाली सङ्गीत जगतमा एकपछि अर्को उचाई आरोहण गरिरहेका थिए । त्यसैले नारायण गोपाललाई मिरिकको होस् या डुवर्सको साङ्गीतिक कार्यक्रम अनिवार्य साथ लिनैपर्ने थियो । 

ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् 

सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् । –लक्ष्मीप्रसाद देवकोटा 

नेपाली सङ्गीत पेसा, आर्जन वा आजीविका नबनिसकेको अवस्थामा नारायण गोपाल नाचघरको जीएम बन्नु स्वभाविक थियो । आर्थिक अभावको अक्कर सामु कसैको आदर्शको पहाड अडिन सक्दैन । अभाव र आवश्यकताले भोर्लेफेदीतिर तानी दिन्छ । साथीभाइसँग खुलेर प्रहेलिका गर्न रुचाउने उनलाई कसै कसैले अरोगन्ट र इक्सेन्ट्रिक (सन्काहा) स्वभावको मान्छे हो पनि भनिपठाए । मेरा अनुभव र सम्झनामा नारा गोपाल सरल र मिलनसार हुन् । बडोपन र बनावटी बानी–व्यक्तित्व कहिल्यै पाइनँ मैले । उनलाई पढ्न नसक्ने वा प्रतिभालाई परख गर्न नसक्नेहरूले जे जे आँकल गरे पनि । नारायण गोपाल नेपाली गायनको दुनियाँमा अमर रहने छन् । अम्बर रहेका छन् । जहाँ सधैँ घाम र जून छन् र भइरहने पनि छन् । 

पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म । – यादव खरेल । 

गीत–गायन र रेकर्डिङ स्थान 

नारायण गोपालका प्रायजसो गीत रेडियो नेपालमा रेकर्ड भएका हुन् । त्यसबाहेक रत्न रेकर्डिङ संस्थान मार्फत् रेडियो नेपालको स्टुडियो, चलचित्र संस्थानको बालाजु स्थित हल, केही गीत महेन्द्र पुलिस क्लबको हल, म्युजिक नेपाल आदि साथै कलकत्ता, बम्बै आदि स्थानमा भएका हुन् । केही गीत तबला र हर्मोनीमा मात्रै पनि रेकर्ड भएका छन् । अधिकांश श्रोताले छुट्टाउन सक्दैनन् । यसको एउटा कारण हो गायकीको कमाल, प्रभाव र आकर्षण । जो गीत रचना, सङ्गीत र स्वरमा रहन्छ । 

मान्छेको माया यहाँ खोलाको पानीजस्तो 

किनारालाई छोइ भाग्ने लहरको बानीजस्तो । – राममान तृषित । 

गायक नारायणगोपालले नेपालका धेरै शहरी क्षेत्रमा आफ्नो एकल गायन प्रस्तुति दिएका छन् भने दार्जिलिङ क्षेत्रका मिरिक, खरसाङ, डुवर्स आदि स्थानमा पनि उत्तिकै उल्लासमय साङ्गीतिक कार्यक्रम गरेका छन् । डुवर्स र मिरिकमा चर्चित गायक भक्तराज आचार्यलाई समेत साथ लिएका थिए । यसको एउटा अर्थ हुनसक्छ कि भक्तराज आचार्यको गायन शैली नारायण गोपाललाई भित्रबाटै मन पर्दथ्यो । उनले अर्का स्थापित गायक फत्तेमानलाई आफ्नो सङ्गीतमा ‘वनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले’–रचना भैरवनाथ रिमाल, बोलको गीत गाउन लाएकाले गायक फत्तेमानसँगको मित्रता सघन रहेको थियो । सकारात्मक मित्रता नभइ साथसाथै साङ्गीतिक कार्यक्रम गर्ने वा गीत सङ्गीत रेकर्ड गरिने काम हुँदैन । त्यसले के पुष्टि गर्छ भने सिर्जना र मित्रताको झोलुङ्गे पुल यी सुरकर्मीहरूसँग राम्रो र बलियो रहेको थियो । 

पर्खी बसेँ आउँला भनी मेरो उठ्ने पालो 

कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो । – नीर शाह । 

नारायण गोपालका केही बन्दी गीतहरू :  

घटना परिघटनाहरू अनेक हुन्छन् । राजनीतिक फेरबदल भइरहन्छ । कहिलेकाहीँ संयोग यस्तो हुन्छ कि हुनु नपर्ने हुन्छ र हुनुपर्ने हुँदैन । नारायणगोपालले गाएका केही गीतहरू प्रसारण हुनबाट रोक लगाइयो । त्यो थियो २०४७ साल । सधैँ त्यही प्रसारण संस्थाबाट घन्किरहेका गीतहरू अनायसै बन्दी बने । ती थिए ‘तिमीलाई देख्दा रहर होला जागेर आउँछ’, ‘चुमेर पानाभरि यति म लेखिदिन्छु’, ‘गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला एक्लै तिमी नआऊ म मातिएको बेला’, ‘सानै हुरीमा बैँसको सपना’, ‘पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म’, ‘आज र राति के देखेँ सपना मै मरी गएको’, ‘श्रद्धाको फूल चढाइदिनु आएर लासमा’, ‘तिमी एक फूल हौ भने म फूलको पराग’, ‘बिर्सेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ’ आदि । 

नारायण गोपाल र गीतको सङ्ख्या

धेरै प्रसारण केन्द्र वा मिडियामा नारायण गोपालका गीतहरूको सङ्ख्या तोक्ने गरिएको छ । तर त्यो एक हचुवा तथ्याङ्क मात्रै हो । किनकि खोज, अध्ययन वा अनुसन्धानको एउटा विधि वा प्रविधि हुन्छ नै । केही उपबुज्रुकहरूले सधैँ सङ्ख्या यतिउति छ भनेर आलाप्ने गरेको सुनिन्छ, उनको प्रसङ्ग आउँदा । जो ठिक र सही तरिका होइन । हालसम्म भने पनि कुन तथ्यका आधारमा भन्ने हो । लगभग एकसय पचास विभिन्न गीतहरू रहेको देखिन्छ । राष्ट्रिय भावका चारवटा गीत छन् जस्तै ‘आमा तिमीलाई’, ‘मुटुको हरेक नशामा तातो रगत उमाली’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘म मरे पनि मलाई मेरो देशको माया छ’ आदि आदि । 

नेपाली चलचित्र ‘परिवर्तन’, ‘मनको बाँध’, ‘हिजो आज भोलि’, ‘सिन्दूर’, ‘कान्छी’, ‘बदलिँदो आकाश’, ‘लाहुरे’, ‘चोट’, ‘चिनो’, ‘कोसेली’, ‘माया’ आदि गरी ११ वटा चलचित्रमा एकल र युगल गीत गरी २० वटा गीत गाएका छन् । युगल स्वरमा साथ तारादेवी, अरुणा लामा, आशा भोस्ले, मीरा राणा आदिको रहेको देखिन्छ । करिब दुई दर्जन जति गीतहरूको सङ्गीत गायक नारायण गोपाल आफैले गरेको देखिन्छ । जसमा कुनै आधुनिक छन् भने कुनै राष्ट्रिय गीत छन् । एउटा लोकलयको गीत ज्ञानु राणासँग गाएका छन् । ‘शिरिमा शिरी नि कान्छी बतासै चल्यो, बाबरी फूलको बासना सुन मेरो निर्माया’–गीत सङ्कलन धर्मराज थापा, बोलको लोकगीत युगल गायनमा रहेको छ । 

आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या छ 

मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ । – कालीप्रसाद रिजाल । 

लेखक र सम्पादक

नारायण गोपाल गायकरसङ्गीतकार मात्र नभएर लेखक तथा सम्पादक पनि हुन् । उनले ‘कान्छी मस्याङ्ग’ भन्ने गीति–नाटक लेखेका छन् । जुन गीति–नाटक उपत्यकाको समाजमा प्रदर्शन पनि गरिएको थियो । ‘बागीना’ त्रैमासिक पत्रिकाको सम्पादक तथा प्रकाशक नारायण गोपाल भए पनि कुनै कुनै अङ्कमा प्रकाशक नीर शाह पनि रहेको देखिन्छ । नारायण गोपाल प्रकाशक रहेको गीतकार भैरवनाथ रिमालको गीति कृति ‘हरेक प्रहर अनेक लहर’–२०३५, एक वर्षभित्रै चौथो अङ्क प्रकाशनमा आए चर्चित भई रेकर्ड कायम गरेको थियो भने उक्त कृतिको भूमिका मङ्गलदेव परियारको रहेको छ । 

वि.सं. १९६५ पछि उठेको नेपाली आधुनिक सङ्गीतको फैलावट यहाँसम्म आइपुग्न धेरै सुरकर्मीहरूको योगदान रहेको छ । जसै हामी हरिप्रसाद रिमाल, बटुकृष्ण ज्वाला, कृष्णमान डंगोल, जनार्दन सम, उही गोविन्दबहादुर गुरुङ आदि इतिहासको गहिराइभित्र छोपिँदै छोपिँदै गइरहेका छन् । नेपाली सङ्गीतले रूप–स्वरूप र अनेकन् शैली फेर्दै अगाडि बढिरहेको पाइन्छ । त्यस्ता परिवर्तन वा शैलीलाई समेत सुरकर्मी नारायणगोपालले आत्मसात गरेको देखिन्छ । उनको योगदान एक शिलालेख जस्तै भइसकेको छ । जो चीरकालसम्म रहिरहने कुरामा दुई मत रहँदैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button