तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा रेडियो नेपालमा कार्यरत अर्याल र चौधरी सम्मानित

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा रेडियो नेपालको समाचार महाशाखामा कार्यरत पत्रकार कुशल अर्याल र कार्यक्रम प्रस्तोता विद्या चौधरी सम्मानित हुनु भएको छ । 

विगत लामो समयदेखि सञ्चार माध्यममा  अपाङ्गता  भएका व्यक्तिहरूको सवाललाई उजागर गरिएको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज भृकुटीमण्डपमा आयोजित मुल समारोहमा मन्त्री नवल किशोर शाह सुडीले उहाँहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । 

कार्यक्रम सञ्चालक चौधरीले रेडियो नेपालको आफ्नै उत्पादनमूलक ‘हाम्रो बोली’ कार्यक्रम   वि.सं. २०७७ भदौ देखि हालसम्म अनवरत रूपमा सञ्चालन गर्दै आउनु भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालमा रहेर कार्यक्रम ‘हाम्रो बोली’ मा बहस पैरवी गर्दै शारीरिक, मानसिक, बौद्धिक लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको विषयवस्तुलाई स्थान दिने गरेको छ । 

सम्मान प्राप्त गरेसँगै कार्यक्रम सञ्चालक चौधरीले अपाङ्गताको क्षेत्रमा थप काम गर्ने हौसला र प्रेरणा मिलेको बताउनुभयो । 

कार्यक्रममा समेटिएका सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट पछाडि पारिएका र बहिष्करणमा परेका वर्गको आत्म सम्मानमा अभिवृद्धि गर्ने उद्देश्य रहेको चौधरीले बताउनुभयो । 

सो अवसरमा  अपाङ्गता भएका व्यक्तिहरूको सवालमा काम गर्ने विभिन्न संघ, संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button