तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी महामहोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महा महोत्सवको चौथो दिन आज तिलकोत्सव पर्व सम्पन्न भएको छ ।

oplus_2

जानकी मन्दिरबाट भगवान् श्रीरामको तीलकका लागि १ सय १ भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव सहित साधु सन्त महन्तहरू बाजागाजा सहित राम मन्दिरमा पुगेर भगवान् रामको तिलक गर्ने चलन अनुसार तिलक गरिने कार्यक्रम सम्पन्न भएको हो ।

भारतको अयोध्याबाट यस पटक पाँच सयको सङ्ख्यामा साधु सन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्तिहरू जन्तीको रुपमा आएका छन् ।

तिलकोत्सव समारोहमा जानकी मन्दिरका तर्फबाट पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका नेता विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह सहितका मन्त्रीहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया सहितका सुरक्षा निकाय सहभागी हुनुहुन्थ्यो ।

जनकपुरधाममा मङ्सिर १६ गते शुरु भएको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोली २० गते मटकोर, २१ गते स्वयंम्बर तथा शुभ विवाह र २२ गते रामकलेवा सँगै यस वर्षको विवाह पञ्चमी महामहोत्सव सम्पन्न हुने कार्यक्रम रहेको छ ।

तिलकोत्सव समारोहमा पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले विवाह पञ्चमी महामहोत्सवले नेपाल भारतको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विवाह पञ्चमी महामहोत्सव पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button