अपाङ्गता भएका व्यक्ति भन्छन्– अवसर पाए परिवारको भरोसा बन्न सक्छौँ !
बुटवल । बुटवल तामनगरका टोपराज महरा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । दृष्टिबिहिन भएकै कारण कुनै समय परिवार र समाजले गरेको अपहेलना उहाँले अझै बिर्सिनुभएको छैन । तर, पढाइसँगै आर्थिक आम्दानी गर्न थालेपछि उहाँ परिवारको भरोसा बन्नुभएको छ ।
अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरू परिवारको बोझ होइनन्, बरु ‘अवसर पाए भने परिवारको भरोसा बन्न सक्छन्’ भन्ने ज्वलन्त उदाहरण बन्न उहाँ सफल हुनुभएको छ ।
उहाँले पढाई सँगसँगै अगरबत्ती, धूप र फिनाइल जस्ता सामाग्रीहरू झोलामा राखेर घरघरमा गई बिक्री गर्नुहुन्छ । सामान बिक्री गरेर कमाएको पैसाले उहाँले आफ्नो पढाई र घरको राशन खर्च व्यवस्थापन गर्दै आउनुभएको छ । यसले गर्दा उहाँ आर्थिक रुपमा परिवारमा आश्रित हुनुपरेको छैन । बरु, उहाँ परिवारको भरोसा बन्नुभएको छ । असर र परिवारको साथ पाएको खण्डमा सपाङ्गसरह प्रगति गर्न सकिने उहाँको भनाई छ ।
उहाँ मात्रै होइन, जन्मजातै आँखाको ज्योति गुमाउनु भएका रुपन्देहीकै राजन मल्ल स्नातक तह चौथो वर्षको परीक्षाको तयारीमा हुनुहुन्छ । उहाँले भर्खरै मात्र निम्न माध्यमिक तह अन्तर्गत शिक्षक सेवा आयोगको ‘अध्यापन अनुमति’ पत्र (शिक्षक लाइसेन्स) प्राप्त गर्नुभएको छ । अब उहाँ छिट्टै एक शिक्षकको रुपमा कक्षाकोठामा विद्यार्थीहरूलाई पढाउँदै गरेको अवस्थामा भेटिनु हुनेछ ।
शिक्षक अनुमति पत्र पाएपछि उहाँ र उहाँको परिवारलाई निकै ठुलो खुसी मिलेको छ । उहाँ भन्नुहुन्छ, ‘आँखाको ज्योति गुमाउँदैमा जीवनका सबै कुरा गुमाएको भन्ने हुँदैन रहेछ । परिवारको साथ पाए हामी पनि सपाङ्ग सरह अघि बढ्न सक्ने रहेछौँ ।’ घर परिवार र समाजले आफ्नो फरक क्षमतालाई बुझ्नुपर्ने उहाँको भनाई छ ।
त्यसो त, रुपन्देहीकै सङ्गीत डाँगी क्षेत्री जन्मजातै आँखा देख्नुहुन्न । आँखा नदेख्ने भए पछि आफन्त र समाजले गरेको अपहेलना उहाँले पनि सामना गर्नुपर्यो । तर पढाइसँगै सडक सङ्गीतबाट कमाएको पैसाले घर व्यवहार चलाउन थाले पछि उहाँ परिवारको भरोसा बन्नुभएको छ । यस कुराले उहाँ निकै खुसी हुनुहुन्छ । परिवारको साथ पाए हरेक चुनौतीलाई सामना गर्दै अघि बढ्न सकिने उहाँको भनाई छ । अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जनजीवन अरूको भन्दा कठिन छ । त्यसमाथि आर्थिक विपन्नता भएका परिवारमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेला र अपमान गर्ने गरेको क्षेत्रीको भनाई छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या ४८ लाखको हाराहारीमा रहेको छ । रुपन्देहीमा मात्रै १३ हजार अपाङ्गता भएका व्यक्तिहरू रहेको रुपन्देही दृष्टिबिहिन संरक्षण केन्द्रको दाबी छ । केन्द्रका अध्यक्ष पदम नेपालीका रुपन्देहीका दृष्टिबिहिन तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज भएता पनि अधिकांशको अवस्था निकै दयनीय छ ।
अपाङ्गता भएका व्यक्तिलाई समाजले दुर्व्यवहार गर्ने, परिवारले बोझको रुपमा लिने र राज्यले समेत बेवास्ता गर्ने गरेका कारण उनीहरूको अवस्था दयनीय भएको केन्द्रका अध्यक्ष नेपाली बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी दृष्टिबिहिनहरु सडकमा बसेर गीत गाएर आम्दानी गरेर जीविकोपार्जन गर्छौ । कोही अगरबत्ती बेचेर आम्दानी गर्छौ । कोहीले मागेरै जीवन चलाइरहनुभएको छ । तर, राज्यले हाम्रो फरक क्षमतालाई बुझेर रोजगारी दिन सके हामी कसैको बोझ होइनौ, बरु परिवार र समाजको भरोसा बन्न सक्छौँ ।’
त्यसो त, नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ (प्रथम संशोधन २०७५) र अपाङ्गता भएका व्यक्ति सम्बन्धि राष्ट्रिय नीति २०८० जारी गरेको छ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली २०७७ भाद्र १ गते जारी गरेको छ । स्थानीय तहलाई अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, पुनर्स्थापना र सामाजिक सुरक्षाको लागि जिम्मेवार बनाउन स्थानीय सरकार सञ्चालन ऐनको दफा ११(२), त १२, २४ र ४३ मा व्यवस्था गरेको छ ।
त्यस्तै समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका २०७६, सहायक प्रविधि सामाग्री सेवा सम्बन्धि राष्ट्रिय मापदण्ड २०७८‚ प्राथमिक सहायक सामाग्री सूचि सम्बन्धी कार्य सञ्चालनका लागि मार्ग निर्देशन २०७८ समेत जारी भएको अवस्था छ । तर ती सबै कानुन कार्यान्वयन नभएका कारण अपाङ्ग मैत्री समाज निर्माण हुन नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव सुगम भट्टराईको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्