तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेसँगै सुनसान रारा, पर्यटन व्यवसायी मर्कामा

मुगु । हिमाली क्षेत्रको चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल सुनसान बन्न थालेको छ। चिसोका कारण पर्यटकको आगमन घट्न थालेपछि रारा क्षेत्रका होटेल र आसपासका रमणीय ठाउँहरू सुनसान जस्तै बनेका छन् ।

हिउँद लागे सँगै पर्यटकहरू दिन प्रतिदिन घट्दै गएपछि राराका पर्यटन व्यवसायीहरू हाल फुर्सदिला भएका छन् । दिनभर घाम तापेर बस्नुको विकल्प नरहेको रारा सल्लेरीका पर्यटन व्यवसायी शैलेन्द्र बमले बताउनुभयो ।

व्यवसायी बमका अनुसार पर्यटकहरूले चिसोमा खासै डराउनुपर्दैन । ‘जाडो सिजनमा यहाँका होटेलहरूमा आगो ताप्नको लागि क्याम्फायर कोठाहरू व्यवस्थित, हुने भएकाले हिउँदमा पनि रारा आउन कोही कसैले डराउनु पर्दैन ।’ बमले भन्नुभयो ।

रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार चिसो मौसममा यहाँ आउने पर्यटकहरूको सङ्ख्या गत वर्षको तुलनामा निकै घटेको छ।

सरकारले चिसोमा समेत पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार विकास र प्रचार-प्रसारलाई थप प्राथमिकता दिनुपर्ने आवाज स्थानीय व्यवसायीहरूबाट उठेको छ। चिसोका बाबजुद पनि राराको प्राकृतिक सौन्दर्यलाई अनुभव गर्न केही साहसी पर्यटकहरू भने फाटफुट रूपमा आइरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button