लुम्बिनीमा चार महिनामा १ हजार बढी नयाँ उद्योग थपिए
बाँके । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिक (चार महिनामा) १ हजार १ सय २८ नयाँ उद्योग दर्ता भएका छन् भने ७ सय ४२ उद्योग बन्द भएका छन्। प्रदेशका १२ जिल्लामा नयाँ उद्योगहरूको दर्ता भए पनि धेरैजसो उद्योगहरू उत्पादन उद्देश्यले नभई अनुदान र ऋणका लागि दर्ता हुने गरेको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले बताउनुभयो ।
यस अवधिमा घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर ७ सय ४२ उद्योग बन्द गराइएको छ। व्यवसायीका अनुसार कार्यालयमा बन्द गराउन नपुगेका थप उद्योग पनि बन्द भएको अनुमान छ। पहिलो चौमासिकसम्ममा रुपन्देहीमा २९१, बाँकेमा २४२, नवलपरासी पश्चिममा ११२, कपिलवस्तुमा १३०, दाङमा १४२, बर्दियामा ८९, पाल्पामा ३०, गुल्मीमा १५, अर्घाखाँचीमा २८, प्युठानमा ८, रोल्पामा २४ र पूर्व रुकुममा १७ वटा नयाँ उद्योग दर्ता भएका छन्।
रुपन्देहीमा ११७, बाँकेमा ७३, नवलपरासी पश्चिममा ४३, कपिलवस्तुमा ६२, दाङमा १०९, बर्दियामा ६४, पाल्पामा ९१, गुल्मीमा १३१, अर्घाखाँचीमा ४, प्युठानमा २१, रोल्पामा २१ र पूर्व रुकुममा ६ वटा उद्योग बन्द भएका छन्।
चार महिनामा उद्योगबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। रुपन्देहीले सबैभन्दा बढी ४८ लाख ७१ हजार सङ्कलन गर्दा बाँकेले २६ लाख ८८ हजार, नवलपरासी पश्चिमले १० लाख १४ हजार, कपिलवस्तुले १५ लाख, दाङले २४ लाख ६० हजार, बर्दियाले १८ लाख ३५ हजार, पाल्पाले ९ लाख १३ हजार, गुल्मीले ८ लाख ८१ हजार, अर्घाखाँचीले २ लाख ६९ हजार, प्युठानले ४ लाख ८ हजार, रोल्पाले ६ लाख ९४ हजार र पूर्व रुकुमले १ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ।
चार महिनामा लुम्बिनीमा १ हजार ५२४ वाणिज्य फर्म दर्ता भएका छन्। ४ हजार ३८६ फर्म नवीकरण हुँदा ७८२ फर्म बन्द भएका छन्। वाणिज्यतर्फ २ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
चार महिनामा ५१९ महिला र ९३३ पुरुष उद्यमी भएका छन्। यस अवधिमा १ हजार ६४७ महिला र ३ हजार ३५ पुरुषले रोजगारी पाएका छन्। चार महिनामा ४ हजार ४८ उद्योग र ४ हजार ३८६ वाणिज्य फर्म नवीकरण भएका छन्। त्यस्तै, १ हजार ५१२ उद्योग र १ हजार ६७६ वाणिज्य फर्म संशोधन भएका छन्।
प्रतिक्रिया राख्नुहोस्