मत बदर सङ्ख्या धेरै भएको भन्दै विवाद भएपछि बेलकामा मतगणना स्थगित
उदयपुर । वडाअध्यक्ष पदको उपनिर्वाचनको मतगणनामा विवाद उत्पन्न भएपछि उदयपुर बेलका नगरपालिका ९ को मतगणनाको कार्य स्थगित भएको छ ।
बेलका ९ मा आइतबार भयरहित, शान्तिपूर्वक मतदानको कार्य सम्पन्न भए सँगै राति १० बजेदेखि सुरु भएको मतगणनाका क्रममा विवाद हुँदा पुनः मतगणनाको कार्य सुरु हुन सकेको छैन ।
बेलकामा ८८० पुरुष र १००५ महिला गरि कुल १८ सय ८५ मत खसेको थियो । गएराति सुरु भएको मतगणनाका क्रममा ५ सय मत गणना हुँदा सम्म २ सय २० मत बदर भएको थियो । धेरै मत बदर भएपछि विवाद उत्पन्न भएको बताइएको छ ।
अहिले विवाद उत्पन्न भएर रोकिएको मतगणना सुचारु गर्न प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, निर्वाचन अधिकृतको कार्यालयका पदाधिकारी, सबै दलका प्रमुखहरू सम्मिलित सर्वपक्षीय बैठक बसेर समस्याको समाधान खोज्ने प्रयास भइरहेको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्