पोखरा आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० प्रतियोगिता सोमबारबाट शुरु हुँदै
१० देशका १०५ खेलाडी पहिलो सर्किटमा सहभागी हुँदै
पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा भोली (सोमबार) देखि आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० सर्किट सोमबारबाट सुरु हुने भएको छ । शनिबारसम्म चल्ने पहिलो सर्किट प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आइतबार पोखरा रङ्गशालामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
प्रतियोगितामा नेपाल सहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बङ्गलादेश र कोरियाका १ सय ५ जना खेलाडीहरूको सहभागिता हुने भएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले बताउनु भयो ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमि फाईनलिष्टले ९ अङ्क, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अङ्क प्राप्त गर्नेछन् । त्यस्तै डबल्समा विजेताले २५ अङ्क उपविजेताले १३ अङ्क, सेमि फाइनालिष्टले ६ अङ्क, क्वाटर फाइनालिष्टले ३ अङ्क प्राप्त गर्नेछन् ।
पहिलो सर्किट अन्तर्गत पुरुष तर्फ ७० र महिला खेलाडी ३५ जना सहभागी हुने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले बताउनु भयो । खेलाडी सहित उहाँका अभिभावक र प्रशिक्षक गरी २ सय ५० जनाको सर्किट २ प्रतियोगिता सहित गर्दा दुई साता उहाँहरूको बसाई पोखरामा हुने उहाँले दाबी गर्नु भयो ।
सर्किट २ अन्तर्गत भने मङ्सिर २४ देखि २९ गते सम्म सञ्चालन हुने कास्की जिल्ला टेनिस संघका सचिव भीष्मराज पौडेलले बताउनु भयो । पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँले दाबी गर्नु भयो ।
स्थानीय खेलाडीहरूको खेल कौशल बढाउन उक्त प्रतियोगिताले सहयोग पुग्ने संघ कास्कीका प्रथम उपाध्यक्ष नवीन चालिसेले विश्वास व्यक्त गर्नु भयो । उक्त प्रतियोगितालाई सफल पार्न राज्यबाट खासै सहयोग नभएको उहाँको गुनासो थियो । सर्किट २ सहितको प्रतियोगितामा भने २ सय जना खेलाडीहरू सहभागी हुने भएको सङ्घले जनाएको छ।
प्रतियोगितामा पुरुष सिङ्गल तथा डबल्स ̸ महिला सिङ्गल तथा डबल्स गरि जम्मा ४ इभेन्टमा प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा विजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताका निर्देशक अजय विष्टले प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड र्याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड र्याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड र्याकिङ नं १ भारतीय खेलाडी माहिका खन्ना र छैटौँ वर्ल्ड र्याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने भएको सङ्घले जनाएको छ । जापानी खेलाडी रिकु गत वर्ष समेत पोखरा आउनु भएको थियो । प्रतियोगितामा ४ जना भारतीय अम्पाएर समेत पोखरा आइपुग्नु भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख खर्च हुने संघ कास्कीका कोषाध्यक्ष विष्णु थापाले बताउनु भयो । सङ्घको वोर्डले प्रतियोगिता लक्षित गरी ५ लाख ७० हजार आर्थिक सङ्कलन गरेको उहाँले जनाउनु भयो । उक्त संस्करणको जे ३० वान र टु सर्किट यसपाली सकिए सँगै आउँदो बर्ष जे६० वा जे१०० गर्ने आफूहरूको योजना रहेको अध्यक्ष गुरुङले जनाउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्