झापामा उत्पादित इँटा भारत निर्यात
झापा । आन्तरिक बजार धरमराइरहेको बेला झापामा चिनियाँ प्रविधिमा उत्पादित इँटा भारत निर्यात भएको छ ।
मेचीनगर नगरपालिका–१५, ज्यामिर गढीमा स्थापित सरिया ग्रीन ब्रिक्स इण्डष्ट्रिजले पहिलो पटक भारततर्फ इँटा निर्यात गर्न सुरु गरेको हो ।
उद्योगका सञ्चालक कैलाश सरियाका अनुसार मङ्गलवार नमूनाका रूपमा ३२ हजार थान इँटा काँकरभिट्टा नाका हुँदै भारत पठाइएको छ । भारतीय व्यवसायीले उद्योगको अवलोकनसँगै इँटाको गुणस्तर र मोडल मन पराएर इँटा लगेको सञ्चालक सरियाले बताउनुभयो ।
यो नेपालकै ठूलो र अत्याधुनिक प्रविधियुक्त इँटा उद्योग भएको अर्का सञ्चालक विवेक पुरीले जानकारी दिनुभयो । पूर्ण एअर कम्प्रेसर प्रणालीमा आधारित यस उद्योगले स्वचालित मेसिन प्रयोग गरी उच्च गुणस्तरका इँटा उत्पादन गर्न सुरु गरेको उहाँले बताउनुभयो ।
योसँगै भारतमा नेपाली इँटाको माग बढ्ने सम्भावना रहेको जनाउँदै आगामी दिनमा निर्यातको परिमाण बढाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
करिब एक अर्ब लगानीमा स्थापित उद्योगमा कैलाश सरिया, विवेक पुरी, सन्तोष आचार्य, रजनिश, करनाली, सुभाष रत्न शाक्य लगायतको लगानी रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्