१७ औँ हिसान कास्की स्पोर्टस मिटमा ४ हजार खेलाडी सहभागी हुने
पोखरा । पोखरामा यही मङ्सिर ११ देखि सुरु हुने १७ औँ संस्करणको हिसान कास्की स्पोर्टस मिटमा करिब ४ हजार खेलाडी सहभागी हुने भएका छन् ।
पोखरा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औँ संस्करणको हिसान स्पोर्टस मिटमा कक्षा ११ र १२ सहित विश्वविद्यालयका करिब ४ हजार जना खेलाडीहरू प्रत्यक्ष रुपमा सहभागी हुने शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।
शिक्षाको विकाससँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अघि बढाउने अनुरुप आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिताका संयोजक याम रोक्काले बताउनुभयो ।
१७ औँ संस्करणको हिसान स्पोर्टस मिट यही मङ्सिर ११ गतेदेखि १४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरू विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैबिच हिसान कास्कीले विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरूलाई सम्मान गर्ने भएको संस्थाका सल्लाहकार एवं केन्द्रिय उपाध्यक्ष बाबुराम पन्तले जानकारी दिनुभयो । हिसान कास्कीले पोखरा रङ्गशालामा आयोजना हुने १७ औँ संस्करणको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गर्ने भएको छ ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्ने कार्यक्रम तय भएको हिसान कास्कीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्