तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा खेलकुद गतिविधि न्यून: सदरमुकाममै छैन पूर्वाधार

मुगु । मुगु जिल्लामा खेलकुद गतिविधिहरू न्यून रहेका छन्। जिल्लाको सदरमुकाममै खेलकुदका लागि आधारभूत पूर्वाधारहरूको अभाव छ। जिल्लामा खेलकुदका गतिविधिहरू सञ्चालन गर्ने स्थान र संरचना अभावमा खेलकुद प्रेमी तथा खेलाडीहरूलाई असुविधा भइरहेको छ।

जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लका अनुसार “हाल सदरमुकामभित्र खेलकुदका गतिविधिका लागि गाउँ बस्तीका समतल भूभाग खोज्नु पर्ने र  कुनै पनि  कार्यक्रम, भेला तथा आमसभाको आयोजना गर्न समेत  गमगढी बजारको साँघुरो सडकमा  गर्नु पर्ने अवस्था छ”। अध्यक्ष मल्लले थप बताएअनुसार, ‘पहिले  सामान्य खेलकुद गतिविधिका लागी श्री महाकाली नमुना माध्यमिक विद्यालयको चौरमा  बिदाको दिन  सञ्चालन गरिन्थ्यो तर  हाल विद्यालयको प्रशासनले सभा सेमिनार  खेल गतिविधि गर्न निषेध गरेको  छ त्यसैले  हाल कुनै खेलकुद कार्यक्रमको आयोजना गर्न सदरमुकाम बाहिर जानुपर्ने अवस्था आएको छ ।’  

यसले जिल्लाभरिका खेलकुदका कार्यक्रमहरूमा कमी आएको र खेलाडीहरूको क्षमतामा असर पर्न सक्ने जनाइएको छ। खेलकुदका गतिविधि प्रोत्साहन गर्न र जिल्लाका खेलाडीहरूलाई अवसर दिनका लागि स्थानीय तह तथा सरोकारवाला निकायले खेलकुद पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको मल्लको भनाइ छ। 

जिल्लाका खेलाडी हरूको समस्यालाई  ध्यानमा राखेर  खेल क्षेत्र सँग सम्बन्धित पूर्वाधार निर्माणको लागि आवश्यक जग्गा खरिद गर्ने प्रक्रिया अघि बढेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको भनाई छ ।

 उहाँका अनुसार ‘खेल पूर्वाधार  निर्माण गर्न  जग्गा खरिद प्रक्रियाको निर्णय नगर कार्यपालिका बाट अनुमोदन गराई मन्त्रालय वाट फायल स्वीकृत हुँदासाथ जग्गाधनी मुआब्जा वितरण  गरिने र  छायाँनाथ रारा नगरपालिका वडा न-१ लाईम भन्ने ठाउँमा न्यूनतम संरचना बनाउन पहल हुने छ’ ।

मुगुमा खेलकुद गतिविधि न्यून हुनुले जिल्लाका खेलकुद प्रेमी तथा नवप्रवेशी खेलाडीहरूमा निराशा बढाएको छ। खेलकुदमा रुचि भएका युवाहरूले खेलकुदका अवसर र कार्यक्रमहरू बढाउन आग्रह गरिरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button