हात्तीबाट खाद्यान्न जोगाउन सामुदायिक अन्न भण्डार निर्माण
बर्दिया । बर्दियामा जङ्गली हात्तीबाट खाद्यान्न जोगाउन मधुवन नगरपालिकामा सामुदायिक अन्न भन्डार निर्माण गरिएको छ ।
मधुवन नगरपालिका वडा नं १ पत्थरबोझी र वडा नं ३ को भगरैयामा सामुदायिक अन्न भन्डार निर्माण गरिएको हो ।
मधुवन नगरपालिकाको समन्वय र जिएनएफको आर्थिक तथा आइयुसिएनको प्राविधिक सहयोगमा उज्यालो नेपालले सञ्चालन गरेको हात्ती मेरो साथी परियोजनाले अन्न भण्डार निर्माण गरेको हो ।
सामुदायिक अन्न भण्डारले विपन्न नागरिकलाई खाद्यान्न जोगाउनका लागि सहज हुने स्थानीयले बताएका छन् ।
पत्थरबोझी र भगरैया खाता जैविक मार्ग अन्तर्गत पर्दछन् । जहाँबाट भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु आवतजावत गर्दछन् । जैविक मार्ग आसपासका क्षेत्रका स्थानीयवासीले घरमा भण्डारण गरेर राखेको अन्न हात्ती लगायतका वन्यजन्तुले नोक्सान गर्ने खाने गर्दछन् । सोही नोक्सानबाट जोगाउनका लागि सामुदायिक अन्न भण्डार निर्माण गरिएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । मधुवन नगरपालिका अन्तर्गत हात्ती मेरो साथी अभियान विगत चार वर्षदेखि सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
अन्न भण्डारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभएको छ ।
अन्न भण्डारको उद्घाटन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले हात्तीबाट खाद्यान्न जोगाउनका लागि निर्माण गरिएको सामुदायिक अन्न भन्डारले समुदायलाई थोरै भएपनि राहत महसुस हुने बताउनुभयो ।
मधुवन नगरपालिकाको रु २ लाख ८७ हजार २ सय ६४, उज्यालो नेपालका रु ९ लाख र रु १ लाख १६ हजार ७ सय ५रुपैयाँ बराबरको जनश्रमदानमा पत्थरबोझीमा अन्न भण्डारको निर्माण भएको हो ।
त्यसैगरि मधुवन नगरपालिका–३ भगरैयास्थित निर्माण भएको अन्न भण्डारको जम्मा लागत रु १२ लाख ९९ हजार १ सय ५८ रहेको छ । जसमा रु ९ लाख उज्यालो नेपालको, रु ३ लाख मधुवन नगरपालिकाको र रु ९९ हजार १ सय ५८ जनश्रमदान रहेको जनाइएको उज्यालो नेपालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्