विश्व शौचालय दिवस : व्यवस्थित शौचालयको निर्माण गर्न माग
बाँके । बाँकेमा सरसफाइका साथै विभिन्न सामाजिक गतिविधि गरी विश्व शौचालय दिवस मनाइएको छ ।
यस वर्ष पनि नेपालसहित विश्वभर ‘शौचालय, शान्तिको लागि स्थान’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
विश्वका सबै नागरिकहरूलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।
बि ग्रुपको आयोजना र बैजनाथ गाउँपालिकाको सहकार्यमा विश्व चर्पी दिवस बैजनाथ–८ टिटेहिरियामा मनाइएको छ ।
बैजनाथमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषण भए पनि कार्यान्वयन हुन नसक्दा समस्या बढ्दै गएको बि ग्रुपकी सहजकर्ता सविना चौधरीले बताउनुभयो ।
स्थानीयहरू सँगको अन्तरक्रियामा सहजकर्ता चौधरीले सफा शौचालयको सही प्रयोग सभ्य समाजको अभिन्न अङ्ग रहेकोले शौचालय प्रयोग गर्नतर्फ ध्यान दिन सुझाव दिनुभयो ।
फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधन सहितको शौचालय सबैको पहुँचमा पुर्याउन सके मात्र खुला दिसामुक्त अभियानले सार्थकता पाउने टिटेहिरिया स्वास्थ्य चौकीका लक्ष्मण शाहीले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो ।
अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ । करिब १० मध्ये एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षणले देखाएको छ ।
प्रतिक्रिया राख्नुहोस्