तपाईँ सुन्दै हुनुहुन्छः

कर्नाटक यू–१९ विरुद्धको खेलमा नेपाल ५ विकेटले पराजित

काठमाडौँ । एसीसी मेन्स यू–१९ एसिया कपको तयारी स्वरूप कर्नाटक यू–१९ विरुद्ध अभ्यास सिरिजको चौथो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य कर्नाटकले ३७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । कर्नाटकको जितसँगै सिरिज २–२ को बराबरीमा पुगेको छ । अन्तिम खेल बिहीबार हुनेछ ।

मुलपानी क्रिकेट मैदानमा कमजोर सुरुवात गरे पनि कर्नाटकले मध्य क्रममा सानो साझेदारी गर्दै जित पक्का गर्‍यो ।

नेपालका लागि सन्तोष यादवले ३ विकेट लिँदा राजेश यादव र विपिन महतोले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमा अलआउट हुनुअघि १ सय ५ मात्र रन जोड्यो । नेपालका लागि ओपनर मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।

मध्यम गतिका बलर अक्षथ प्रभाकरले आफ्नो ८ ओभरको स्पेलमा ५ विकेट लिँदै नेपाललाई धराशायी पारे । बायाँ हाते स्पिनर प्रणव अश्वथले पनि ३ विकेट लिँदै कसिलो बलिङ गरे । अक्षथको ५ र प्रणवको ३ विकेट सँगै इसा र मलातेशले कर्नाटकका लागि १–१ विकेट लिए । सिरिजको अन्तिम खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button