तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजस्व कार्यालय पोखराद्वारा १ अर्ब ४८ करोड राजश्व सङ्कलन

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक बर्ष २०८१/०८२ को कार्तिक मसान्त सम्ममा अघिल्लो वर्षको तुलनामा ९ करोड ९१ लख २८ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले कार्तिक मसान्तसम्ममा १ अर्ब ४८ करोड ६३ लाख ४३ हजार राजस्व सङ्कलन गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो ।

गत बर्ष कार्यालयले सोही समय अवधिमा १ सय ७ प्रतिशत बढी राजश्व सङ्कलन गर्दा १ अर्ब ३८ करोड ७२ लाख १५ हजार राजश्व सङ्कलन गर्न सफल भएको थियो । यस बर्ष भने कार्यालयलाई लक्ष्य नै बढाएकोले गर्दा कार्तिक मसान्तसम्म सङ्कलन भएको राजश्व ७६ प्रतिशत मात्र हो ।

कार्यालयले कार्तिक मसान्तसम्म निर्धारित लक्ष्यको आयकर तर्फ ७५ प्रतिशत मात्र लक्ष्य हासिल गर्न सफल भएको छ । कार्यालयले कार्तिकसम्म आयकर तर्फ ९५ करोड ३१ लख ७५ हजार राजश्व सङ्कलन गरेको छ भने १ अर्ब २७ करोड १७ लाख ३२ हजार लक्ष्य रहेको थियो । अघिल्लो आर्थिक वर्षको कार्तिकसम्म आयकर तर्फ १३४.५० प्रतिशत हासिल गर्न सफल भएको थियो ।

अन्तः शुल्क तर्फ ८९ प्रतिशत लक्ष्य हासिल गर्दा ७ करोड ४६ लाख १८ हजार राजश्व सङ्कलन भएको छ । मूल्य अभिवृद्धितर्फ ७६ प्रतिशतले ४५ करोड ६८ लाख ९९ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या १ लाख ५० हजार रहेको कार्यालयले जनाएको छ । व्यवसायीक करदाता भने ७८ हजार भएको बताइन्छ।

यसैबिच, आन्तरिक राजश्व कार्यालय पोखराले शनिबार देखि विभिन्न कार्यक्रमको आयोजना गरी कर दिवस मनाउन सुरु गरेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी कर दिवस मनाउन थालेको कार्यालयका प्रमुख कर अधिकृत शर्माले बताउनु भयो ।

“कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मङ्सिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको उहाँले बताउनुभयो ।

मङ्सिर १ गते पोखरा सभागृह देखि सृजना चोक हुँदै रत्‍नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभात फेरि कार्यक्रम सम्पन्न भयो । मङ्सिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन हुने भएको छ ।

आर्थिक ऐन, ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई, जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना गरिने छ भने आर्थिक ऐन ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ.व. २०७९/०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्य अभिबृद्धिकर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म छुट सुविधा दिने व्यवस्था गरेको छ ।  

कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक, कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू जारी रहेको कर अधिकृत सनु काफ्लेले जनाउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button