तम्घास-सिमलटारी सडकमा पक्की पुल निर्माण
गुल्मी । मदन भण्डारी राजमार्गको तम्घास देखि सिमलटारी सम्मका विभिन्न ४ स्थानमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । विभिन्न खहरे खोलामा पक्की पुल नबन्दा वर्षातको समयमा यात्रुले सास्ती खेप्दै आएका थिए ।
गुल्मी सदरमुकाम तम्घासबाट पश्चिम तर्फ जाने मदनभण्डारी राजमार्गका खहरे खोलाहरूमा पुल नबन्दा यात्रुले सास्ती खेप्दै आएका थिए । ५ वर्ष पहिले कालोपत्रे गरिएको राजमार्गको हुलाके, धनार्जी, फुलवारी र घमिरका खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधनहरू र पैदल यात्रुलाई समेत आऊ-जाऊ गर्न समस्या परेको थियो ।
अहिले यी चार स्थानका पक्की पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । पक्की पुलहरू मध्ये हुलाके र फुलवारी खोलाको पुल सञ्चालनमा आइसकेका छन् । अरू दुइवटा पुल पनि केही दिनमै सञ्चालनमा ल्याउने तयारीमा छन् । यसले गर्दा त्यस भेगका चल्ने साना ठूला सवारी साधनलाई आउजाउ गर्न सहज हुने भएको मालिका गाउँपालिका-६का स्थानीय ओम कार्कीले बताउनुभयो ।
४ वटा पुल मध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माण कार्य गर्दै आएको छ । हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ । ४ वटा पुलमध्ये अब दुईवटा पुलको एप्रोज वाल निर्माण कार्य मात्रै बाँकी रहेकाले अबको केही दिनमै पुल सञ्चालनमा आउने मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले बताउनुभयो ।
राजमार्गका ४ वटा पक्की पुलको कुल लागत १९ करोड २६ लाख ५३ हजार रहेको छ । यो राजमार्ग भएर गुल्मी जिल्लाका पश्चिम भेगसँगै छिमेकी जिल्ला प्युठानसम्म पुग्ने सवारीसाधनहरू आउजाउ गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्