‘सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ’
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताउनुभएको छ ।
कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो ।
“भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ ।”
प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उहाँको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उहाँले भन्नुभयो, “नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारीपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ ।”
उहाँले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले सकेसम्म सेवालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । राजमार्ग नजिकका अस्पताललाई जनशक्ति र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले प्राथमिकतामा दिइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्