तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वीराजमार्ग आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने 

तनहुँ । मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।

पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ । 

मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वी सडक खण्ड आयोजनाले जनाएको छ । 

राती १ बजेदेखि १।३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वी सडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक खण्डमा ४१ दशमलव ५ किमी दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमी सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ । 

उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका  प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

“आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,” उहाँले भन्नुभयो “यस राजमार्ग भएर गुड्ने सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । ”

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button