पर्यटकीय क्षेत्र बनाइँदै भार्से गाउँ
गुल्मी । गुल्मी जिल्लाकै सबैभन्दा धेरै मगर बस्ती भएको भार्से गाउँ । यो समुदायको आफ्नो परम्परागत रीतिरिवाज, भेषभुषा, भाषाकला, संस्कृति र पहिचान जीवितै छ । भार्सेमा पर्यटकलाई थप आकर्षित गर्न बौद्ध स्तुपासंगै नजिकै फन पार्क निर्माण गरिएको छ ।
गुल्मी जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित भार्से गाउँ प्राकृतिक रुपमा पनि निकै सुन्दर छ । सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्ध स्तुपा निर्माणको काम भएको छ । स्तुपा निर्माणको नेतृत्व भार्सेली समाज हङकङले गरेको निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले बताउनुभयो ।
भार्से देउरालीबाट उत्तरका धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका मनमोहक हिमशृङखला र गुल्मीसहित पर्वत, बागलुङ, म्याग्दी, पाल्पा र स्याङ्जाका महत्वपूर्ण दृश्यावलोकन गर्न सकिन्छ । अहिले पनि यहाँ दैनिक ६०÷७० जना पर्यटक भित्रिने गरेका सत्यवती गाउँपालिका–८ स्थानीय सुजन गलामीले बताउनुभयो ।
स्तुपा र पार्कसँग थाप्ले, खानीदेखि प्रसिद्ध स्थान राम पाइलालाई जोडेर पर्यटकीय विकास, संरक्षण र प्रचारप्रसार अगाडी बढाउने लक्ष्य रहेको छ । भार्सेली मगरहरूको कला संस्कृतिको संरक्षणसँगै पर्यटकीय सम्भावना देखेर ६ वर्षदेखि होमस्टे सञ्चालन गरिएको सत्यवती गाउँपालिका ८ का वडाध्यक्ष होमबहादुर रानाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्