तपाईँ सुन्दै हुनुहुन्छः

पालिकाको विकासमा सक्रिय ढङ्गले लाग्ने उम्मेदवार शेर्पाको प्रतिबद्धता

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा यही मङ्सिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले हिजो काठमाण्डौमा बसोबास गर्ने गौरीशङ्करका मतदाताहरू सँग आफु पालिकाको विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

एमाले गौरीशङ्कर– काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा रहेका गौरीशङ्करवासी गाउँपालिकाका अगुवा कार्यकर्ता भेलामालाई सम्बोधन गर्नुहुँदै शेर्पाले आफु निरन्तर पालिकामै बसेर सेवामा लागि रहने सङ्कल्प गर्नुभयो । उहाँले पालिकामा बढ्दो बेथिति देखेर गौरीशङ्करवासी स्थानीय तहका जनप्रतिनिधि सँग दिक्क भइसकेको उल्लेख गर्नुहुँदै आफु त्यसको सुधारका लागि ठोस योजना सहित अघि बढ्ने बताउनुभयो ।

अहिले जनप्रतिनिधि कार्यालयमा नबस्ने भएकोले स्थानीय नागरिकले दुख पाएको नागरिकहरूको गुनासो रहेको र आफु उपाध्यक्षमा निर्वाचित भए सुख– दुख स्थानीय नागरिकसँगै बिताउने शेर्पाले बताउनु भयो । नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरीशंकर निर्माण गर्ने सपना पुरा नहुने भएकोले निर्धक्क भएर आफूलाई मतदान गर्न उहाँले आग्रह गर्नु भयो । आफु विकृति र विसङ्गतिको विरुद्ध लड्दै आएकोले पालिकाको हरेक गतिविधिहरू पारदर्शिता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button