तपाईँ सुन्दै हुनुहुन्छः

बेलकोटगढी–१३ बाराहीमा प्रहरी चौकी स्थापना गर्न माग

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही नेपाल प्रहरीको चौकी स्थापना गर्न सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाईमा बोल्ने अधिकांश सरोकारवालाहरुले बाराहीमा प्रहरी चौकीको स्थापना गरेर शान्ति सुरक्षाको भरपर्दो बन्दोबस्त मिलाउन माग गरेको हो ।

बेलकोटगढी–१३ का वडाध्यक्ष नमराज पाण्डेले दुईघण्टा भन्दाबढी समय लाग्ने पासाङल्यामु राजमार्गको दुरी, बाराही–शक्ति मावी–बडहरे–बस्नेतगाँउ हुदै जिल्ला सदरमुकाम विदुर पुग्ने सहितका विभिन्न सडक मार्गको विस्तार, बढ्दो जनघनत्व एंव गाँउघरमा हुनसक्ने आपराधिक गतिविधि रोक्नको लागी बाराहीमा प्रहरी चौकी स्थापना गर्न माग गर्नुभयो ।

उक्त स्थानमा स्थापना हुने प्रहरी चौकीले बेलकोटगढीको वडा नं. १०, ११, १२ र १३ को भूगोलको सुरक्षाको लागी प्रभावकारी हुने वडाध्यक्ष पाण्डेको भनाई छ ।

सार्वजनिक सुनुवाईमा जिज्ञासा राख्ने माओवादी केन्द्रका प्रतिनिधि रमेशकुमार लामा, राप्रपाका प्रतिनिधि दिपेश पाण्डे, स्थानीयबासी सुनिल लामा, मधुसुदन पाण्डे, राजेन्द्र पाण्डे, विकास पाण्डे लगायतले वडाध्यक्षले राख्नुभएको प्रहरी चौकी स्थापनामा समर्थन गर्नुभयो ।

सहभागीहरुबाट आएको प्रहरी चौकी स्थापनाको माग जायज रहेकाले त्यसको लागी पहल गर्ने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।

हाल उक्त भूगोलको सुरक्षामा बेलकोटगढी–१० स्थित प्रहरी चौकी तादीपुल अथवा ककनी प्रहरी चौकीबाट प्रहरी खटिने हुदाँ भरपर्दो सुरक्षा र समयमा नै प्रहरीको उपस्थिती हुन नसक्दा शान्ति सुरक्षामा त्रासपूर्ण अबस्था रहेको छ ।

जनस्तरबाट आएको मागलाई सम्बोधनको लागी जिल्ला सुरक्षा समिति मार्फत निर्णय गराई सहमतिको लागी माथिल्लो निकायमा पठाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button