तपाईँ सुन्दै हुनुहुन्छः

हिउँद  लागेसँगै सुनसान लखुपाटन: उजाड बने खर्क

मुगु । वर्षा ऋतुमा मानिस र पशुहरूको चहलपहलले भरिने लखु पाटन हिउँदको सुरुवातसँगै सुनसान बनेको छ। 

उच्च हिमाली क्षेत्रको यस पाटन क्षेत्रमा वर्षा याममा गाई, भैँसी, भेडा-बाख्रा र घोडा-खच्चडको चरी-चरणको व्यस्तता हुन्छ। यहाँका बासिन्दाहरूका लागि लखु पाटन वर्षामा मुख्य चरी चरण क्षेत्र हो। परापूर्व कालदेखि नै छायाँनाथरारा नगरपालिका वडा न-१० मा अवस्थित लखु पाटनमा  यहाँका  बुढापाकाहरू  तातो लागे पछि आफ्ना पशु चौपायाकासाथ यस पाटन क्षेत्रतिर लाग्ने गर्दछन् । तर, हिउँद लागेसँगै चिसो अत्यधिक बढ्न थालेपछि पाटन सुनसान हुन थाल्छ। अत्यधिक चिसोको कारण सबै पशु चौपाया तल्लो बेसीतर्फ झर्न बाध्य हुन्छन्। गाई, भैँसी, भेडा-बाख्राहरू चिसो सहन नसक्ने भएकाले हिउँद सुरु हुनासाथ बेसीका न्यानो ठाउँतर्फ सारिन्छन्। यसै कारण, पाटन र  खर्कहरू अहिले उजाड र सुनसान देखिएका हुन् ।

यस क्षेत्रका बासिन्दाहरूका लागि लखु पाटनको महत्त्व गर्मी र वर्षाका लागि मात्र सीमित रहने गरेको छ, जब यहाँको हावापानी पशु चौपायाका लागि उपयुक्त हुन्छ। हिउँदमा पाटनको चिसो र कठोर मौसमका कारण यहाँका मानिसहरू र पशुहरूले न्यानो ठाउँ खोज्न तलका बेसीहरूमा झर्ने परम्परा पुरानो रहँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button