तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थापना गरिएको छ

मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईले गर्नुभयो । ग्रामथान गाउँपालिकाको कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापनापछि मुख्य निर्वाचन अधिकृत भट्टराईले आजै सर्वदलीय छलफल गर्नुभएको छ । उहाँले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । छलफलमा राजनीतिक दलले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनएका थिए ।

मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मङ्सिर २ गतेदेखि सुरु हुने बताउनुभयो । पहिलो दिनको कार्यक्रम मनोनयन दर्ता रहेको उहाँले बताउनुभयो । मनोनयन दर्ता बिहान १० बजेबाट सुरु गरिने भएको छ ।

मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी गराउनुभएको थियो ।

७ वटा वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button