तपाईँ सुन्दै हुनुहुन्छः

कर्नाटका विरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ । एसिसी यु–१९ एसिया कपको तयारीमा रहेको नेपालले कर्नाटका विरुद्धको दोस्रो अभ्यास खेलमा सात विकेटको विजय हासिल गरेको छ ।

नेपालको जितसँगै पाँच खेलको अभ्यास शृङ्खला १–१ को बराबरीमा आएको छ । पहिलो खेलमा कर्नाटका एक विकेटले विजयी भएको थियो । शृङ्खलाको तेस्रो खेल आइतबार हुनेछ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा कर्नाटकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य २४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर आकाश त्रिपाठीले अविजित ५२ रन बनाए । यसैगरी अर्का ओपनर मयन यादवले ३२ रन जोड्दा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेन भट्टले १४ रन बनाए । मध्य क्रमका ब्याटर उत्तम मगरले १२ रनको योगदान गरे ।

कर्नाटका लागि मलटेस एमले दुई तथा ध्रुव वासुले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्नाटकाले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल तयार पारेको थियो । कर्नाटका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रिसभ अपाचुले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै ओपनर प्रतीक पीले ३७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेन ।

कर्नाटकालाई कम रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान हेमन्त धामी र नरेन साउदले समान चार विकेट लिए । यसैगरी दयानन्द मण्डल र सन्तोषको यादवको नाममा समान एक विकेट रह्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button