तपाईँ सुन्दै हुनुहुन्छः

स्वामिकार्तिक खापर उपनिर्वाचन: मुख्य दलले टुङ्ग्याए उम्मेदवार 

बाजुरा । आगामी मङ्सिर १६ गते बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्वाचनको सरगर्मी सुरु भएको छ । मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने गरी मुख्य दलहरूले उम्मेदवार छनोट प्रक्रिया टुङ्ग्याए सँगै चुनावी चहल पहल ह्वात्तै बढेको छ। 

नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढालाई, काँग्रेसले कुन्तिसरा शाही, नेकपा माओवादी केन्द्रले राजुकुमारी विक तथा एकीकृत समाजवादीले जवा साहीलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। 

 ७९ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि दलहरूले आफ्ना उम्मेदवार सहित प्रचार प्रसार अभियानलाई  तीव्रता दिन थालेका छन्।

कांग्रेस एमाले सत्ता गठबन्धनमा भए पनि दुवै पार्टी एकआपसमा भिड्दै छन् । काँग्रेसलाई नेकपा एकीकृत समाजवादीले सघाउने सङ्केत गरेको भए पनि हाल सम्म त्यसको आधिकारिक निर्णय हुन नसक्दा दुवै दल आ(आफ्नै पार्टी उम्मेदवारको पक्षमा भोट माग्दै घरदैलो अभियानमा निस्किसकेका छन् ।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । उपाध्यक्षमा मैना जोशीले एक हजार ८ सय १० ल्याएर विजयी हुँदा  प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६सय३७ मत ल्याउनुभएको थियो। त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २ सय १३  मत ल्याउनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button