तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्सका राजदूत र नगर प्रमुख आचार्य बीच भेटवार्ता 

पोखरा । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग भेटवार्ता गर्नु भएको छ । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बिच दुई पक्षीय हितका विषयमा छलफल भएको मेयरको सचिवालयले जनाएको छ । 

विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको मेयर आचार्यले उल्लेख गर्नु भयो । फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास रच्नु भएको थियो । त्यसको ३ वर्ष पछि मात्रै सगरमाथा आरोहण गरिएको थियो । 

हर्जोगले अन्नपूर्ण–१ (प्रथम) हिमालको सफल आरोहण गरेको आज ७४ वर्ष पुरा भएको छ । सन् २०२५ मा हिमाल आरोहणको ७५ औँ वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको भेटवार्तामा राजदूत कोर्टेभलले बताउनुभयो । हर्जोगले उनका सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गर्नु भएको थियो । 

भेटवार्तामा अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल सर्भेका लागि प्राविधिक सहयोग सहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बिचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको मेयर आचार्यले बताउनु भयो । 

भेटवार्तामा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको समेत सहभागिता रहेको थियो । पोखरा महानगरपालिका फ्रान्स सरकारसँग सहकार्यमा अन्नपूर्ण सफाइ अभियान देखी समग्र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न तत्पर रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button