तपाईँ सुन्दै हुनुहुन्छः

रन फर बेटर हेल्थ ‘रोड रेस’ को उपाधि सत्यनारायण र श्रेयालाई

नेपालगन्ज । नेपालगन्ज ‘रन फर बेटर हेल्थ(रोड रेस’ को उपाधि पुरुषतर्फ सत्यनारायण धोबी र महिलातर्फ श्रेया सुनारले जित्नुभएको छ । 

निर्धारित दुरी १२ मिनेट ४६ सेकेन्डमा पूरा गरेर धोबी प्रथम हुनुभएको हो । यस्तै कैलाश थापा मगर दोस्रो र अमित रावल तृतीय हुनुभएको छ । उहाँहरूले क्रमशः १२ मिनेट ५३ सेकेन्ड र १३ मिनेट १३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्नुभयो । यस्तै महिलातर्फ सङ्गीता नेपाल दोस्रो र आरती चौधरी तृतीय हुनुभएको छ ।

उहाँहरूले निर्धारित दुरी क्रमश: १७ मिनेट ४९ सेकेन्ड, १८ मिनेट र १८ मिनेट ६ सेकेन्डमा पूरा गर्नुभएको हो । विजेतालाई नगद र मेडलले पुरस्कृत गरिएको थियो । होटल सिद्धार्थ नेपालगन्जले विश्व मधुमेह दिवसको अवसरमा आज नेपालगन्जमा ‘रन फर बेटर हेल्थ-‘रोड रेस’ को आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा मधुमेह लगायत नसर्ने रोगहरूको सिकार हुनुपर्ने भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपानेले होटल सिद्धार्थले कर्मचारीहरूका लागि प्रत्येक हप्ता विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गर्दै आएको भए पनि यसपटक भने मधुमेह दिवसका अवसरमा केही सन्देश दिन रोड रेशको आयोजना गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button