तपाईँ सुन्दै हुनुहुन्छः

सबै सरकारी कार्यालयमा स्वदेशी उत्पादनलाई अनिवार्य बनाइने : मन्त्री भण्डारी

रुपन्देही । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैङ्कहरूमा बढ्दो रकम सङ्कलन र उद्योग व्यवसायमा घट्दै गएको लगानीलाई ध्यानमा राखेर सरकारले सबै सरोकारवाला पक्षसँग बसेर निकास खोज्ने बताउनुभएको छ । 

निजी क्षेत्रसँगको समन्वय र सहकार्यमै सरकार अघि बढ्ने सरकारको प्रस्ट नीति भएको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले यो विषयमा तत्काल समाधान निकाल्न गरी योजना बनाएको बताउनुभयो । 

रुपन्देही व्यापार सङ्घको रजत महोत्सव कार्यक्रममा मन्त्री भण्डारीले लगानीको वातावरण बनाउने योजनामा सरकारका सबै युनिट क्रियाशील भइरहेको बताउनुभयो । “अहिले बैङ्कहरूमा रकम थुप्रिएको छ, तर उद्योगी व्यवसायी लगानी नभएर निराश छन्, आखिर समस्या कहाँ र के ? यो विषयमा सरकारको गम्भीर चासोका साथ दुवै पक्षलाई सँगै राखेर छलफल गरी निकास खोज्ने तयारीमा छ”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको जटिलता हटाउन सबैको समन्वय जरुरी रहेको भन्नुहुँदै नेपाली उत्पादनलाई ब्राण्डिङ गर्न र आयातित वस्तु कम बेच्ने योजनामा व्यवसायीहरू लाग्नुपर्ने बताउनुभयो ।

“‘निराशाका विषय मात्रै ल्याएर सबै बिग्रियो भन्ने सन्देशले होइन सकारात्मक सन्देश दिने काममा हातेमालो गरौँ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रको पुँजी र बैङ्कमा भएको पुँजी परिचालन गरेपछि अहिलेको समस्या केही समाधान हुनेछ ।” 

उहाँले स्वदेशी उत्पादन प्रवर्द्धन सरकारको मुख्य उद्देश्य भएकाले अहिले यहाँ उत्पादन भएका ६० वटा वस्तु ब्राण्डिङ र सरकारी कार्यालयमा स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीतिलाई कार्यान्वयनमा लैजाने तयारीमा सरकार रहेको बताउनुभयो । 

मन्त्री भण्डारीले यहाँबाट रोजगार नपाएर बाहिर गएको मात्रै विषय नहेरी यहाँ काम गर्न बाहिरबाट आएकाको सङ्ख्या पनि हेरेर विश्लेषण गर्दै हरेक क्षेत्रबाट अनिवार्य उत्पादनमा लगानी गर्न प्रोत्साहन गर्ने काममा हातेमालो गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button