पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
गिलगिट,पाकिस्तान । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
एक विवाह समारोहबाट फर्कँदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।
उद्धारका लागि घटनास्थलमा खटिनुभएका वजीर असद अलीले भन्नुभयो, “बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।”
गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।
“घटनामा घाइते अवस्थामा उद्धार गरिएकी बेहुली खतरामुक्त छिन् र उनको गिलगित अस्पतालमा उपचार भइरहेको छ,” अलीले भन्नुभयो ।
त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले एएफपीलाई बताएअनुसार चालकले तीव्र गतिमा गाडी चलाएको जस्तो देखिन्छ।
दुलहाको परिवार विवाहका लागि ५०० किलोमिटर भन्दा बढी टाढा पञ्जाबबाट गिलगिट–बाल्टिस्तानमा गई बेहुली लिएर घर फर्कँदै गर्दा दुर्घटना भएको थियो।
पाकिस्तानमा सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यधिक रहेको छ। यातायातका पूर्वाधार जीर्ण हुनु, पुराना सवारी साधनको प्रयोग, ट्राफिक नियमको पालनामा लापरबाहीलगायतका कारण हुने सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गर्छन् ।
बलुचिस्तानको मकरान सामुद्रिक राजमार्गमा गत अगस्टमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।
सोही महिना पन्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मीरको सिमानामा पर्ने आजाद पट्टन शहर नजिकै एउटा बस सडकबाट खोल्सोमा खस्दा बसमा सवार २४ जनाको मृत्यु भएको थियो ।रासस/एएफपी







प्रतिक्रिया राख्नुहोस्