तपाईँ सुन्दै हुनुहुन्छः

हरित अभियन्ता हेमन्तसहित पाँच जनालाई सगरमाथा स्रष्टा सम्मान

बाँके । नेपालगन्ज–१९ का हरित रुख लगाऊ भनेर अभियान चलाउनुभएका कपास विकास समितिका निवर्तमान अध्यक्ष हेमन्त राज काफले सगरमाथा स्रष्टा सम्मानबाट सम्मानित हुनुभएको छ ।

उहाँले वातावरण संरक्षणमा रुचि राख्ने साथीभाइको जन्मदिन थाहा पाउनेवित्तिकै घरमै पुगेर बिरुवा उपहार दिने अभियान सञ्चालन गर्दै आउनुभएको छ । कविता, गीत, नाटक, लेख रचनामा पनि रुचि राख्दै आउनुभएका हेमन्तले बास ब्राईटल्यान्ड अवार्ड, वन पैदावारको राष्ट्रिय सम्मान, समरस्ता इन्टरनेश्नल अवार्ड, WWF Nepal को एभरेस्ट कलाईमेट इन्टरनेश्नल अवार्ड, भारतबाट ट्री मेन अवार्ड र लुम्बिनी विश्व शान्ति मञ्चको शान्ति हरित सम्मान प्राप्त गरिसक्नुभएको छ ।

उहाँले राष्ट्रपति रामचन्द्र पौड्याल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, प्रदेश ५ का पूर्व मुख्यमन्त्री शङ्कर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली, पूर्व मन्त्री महेश्वर गहतराज, पूर्व मन्त्री मोहम्मद ईस्तियाक राई, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण शाक्य, वरिष्ठ गीतकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, अमला र शीतल चिनीको बिरुवा उपहार दिनुभएको छ । उहाँले रुखप्रति सबैको माया बढोस् भनेर यसरी बिरुवा दिने गरेको बताउनुभयो ।

काफ्लेको निरन्तर लगनशीलताको उच्च मूल्याङ्कन गर्दै र साहित्यको क्षेत्रमा प्रेरणा मिलोस् भनेर सम्मान गरिएको सगरमाथा साहित्य प्रतिष्ठानले जनाएको छ । काफ्लेसँगै हरिभक्त सिग्देल, डा. रेणुका सोलु, मानन्धर अभागी र ज्योति जङ्गललाई सम्मान गरिएको अध्यक्ष बुद्धिबल श्रेष्ठले बताउनुभयो । प्रा. डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button