बाँसगढी प्रिमियर लिग : ककौरा सुपर किङ्स र एचबीएको शानदार जित
बाँके । बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता–२०८१ अन्तर्गत दोस्रो दिन बिहीबार सम्पन्न दुई खेलमा ककौरा सुपर किङ्स र एचबीए विजयी भएका छन्।
पहिलो खेलमा बाँसगढी राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ककौरा सुपर किङ्सले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो। ककौराका अजय सहनीले ३४ बलमा ५७ रनको विस्फोटक पारी खेले भने बाँसगढी राइनोजका उत्सव ढकालले २ विकेट हात पारे। १४१ रनको लक्ष्य पछ्याउने क्रममा बाँसगढी राइनोजले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सकेपछि ककौराले ५७ रनको सहज जित हात पारे। उत्कृष्ट प्रदर्शन गरेका अजय सहनी म्यान अफ दि म्याच घोषित भए।
दोस्रो खेलमा एचबीएले टस जितेर ब्याटिङ रोज्दै २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनायो। एचबीएका अनुप सिंहले ४७ र सोलुप चौधरीले ४० रनको योगदान दिए। बाँसगढी रोयल टाइगर्सका लवकुस यादवले ४ विकेट लिए। जवाफी ब्याटिङमा बाँसगढी रोयल टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर १५२ रन मात्र जोड्न सक्यो, जसका कारण एचबीएले १८ रनको जित हात पायो। बलिङतर्फ एचबीएका सुनिल भण्डारीले ३ विकेट लिँदै राम्रो प्रदर्शन गरे भने अनुज सिंहले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याचको उपाधि पाए।
प्रतियोगिताको तेस्रो दिन आज बाँसगढी रोयल टाइगर्स र ककौरा सुपर किङ्सबीच पहिलो खेल र बाँसगढी राइनोज र एचबीएबीच दोस्रो खेल हुने आयोजक बाँसगढी क्रिकेट क्लबका सागर अधिकारीले जानकारी दिनुभयो ।
बडादसैँ, दीपावली र छठ पर्वका अवसरमा बाँसगढी नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा बाँसगढी क्रिकेट क्लबले आयोजना गरेको यो प्रतियोगिता बुधबार बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले उद्घाटन गर्नुभएको थियो। प्रतियोगिताका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतिक्रिया राख्नुहोस्