लुम्बिनीका ६ स्थानमा एमाले र काँग्रेसले टुङ्गाए उम्मेदवार
रुपन्देही । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा रिक्त ६ स्थानका लागि सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाएका छन् ।
नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका उपनिर्वाचन हुने स्थानका उम्मेदवार टुङ्ग्याएको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
सोही पालिकाको वडा नम्बर २ को अध्यक्षमा जीवन रोकालाई उम्मेदवार बनाइने भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा विष्णुप्रसाद देवकोटालाई एमालेले उम्मेदवार बनाएको छ ।
कपिलवस्तुको शुद्धोधन नगरपालिका–१ को अध्यक्षमा अब्दुल मोजिम खाँ, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा बेगम पुनलाई उम्मेदवार बनाइने उहाँले बताउनुभयो । गुल्मीको मुसीकोट नगरपालिका–१ को अध्यक्षमा दलबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने कार्यतालिका छ ।
यसैगरी नेपाली कांग्रेस रुकुम पूर्वका जिल्ला उपसभापति एवं कार्यवाहक अध्यक्ष भीम बहादुर खड्काका अनुसार पालिकाबाट उपाध्यक्षमा ५ जनाको र वडा अध्यक्षमा दुई जनाको नाम सिफारिस भएर आएको छ ।
उपाध्यक्षमा नन्द बहादुर सुनुवार, जय बहादुर बुढा, कमला मल्ल, रविना घर्ती र सूर्य कुमारी बुढाको नाम आएको जानकारी दिँदै उहाँले प्राप्त नाममाथि छलफल चलिरहेको बताउनुभयो । यस्तै वडा अध्यक्षमा कमाई बुढा र कर्णबहादुर बुढा नाम आएको उहाँको भनाइ छ ।
गुल्मीको मुसिकोट १ मा नेपाली काँग्रेसबाट आनन्द श्रेष्ठ उम्मेदवार बनेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष तिलकराम यादवको मृत्यु भएपछि अहिले उहाँका छोरा दिनेश कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको जिल्ला सभापति अब्दुल कलामले बताउनुभयो । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा काँग्रेसले अनिल थारुलाई उम्मेदवार बनाउने भएको छ ।
यी स्थानमा माओवादीले शनिबारसम्म उम्मेदवार टुङ्गाउने सो पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्