तपाईँ सुन्दै हुनुहुन्छः

युट्युबबाट प्रभावित भई १० कट्ठा जमिनमा ड्रागन फ्रुटको खेती

बाँके । युट्युबमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फ्रुट’को खेती गर्नुभएका जानकी गाउँपालिका–४ नहरपुर्वाका कमलबहादुर राना ड्रागन फ्रुटले उचित बजार पाउँदा खुशी हुनुहुन्छ ।

वैदेशिक रोजगारीका लागि दुबइको भिसा समेत लगाएर बस्नुभएका राना एक दिन युट्युबमा आएको भिडियो मोबाइलमा हेरिरहनुभएको थियो । भिडियो हेरिसकेपछि रानाले विदेश जाने भिसा रद्द गरेर तत्कालै ड्रागन खेती सुरु गर्ने निधो गर्नुभयो ।

रानाले भन्नुभयो, ‘सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको ?’ भनेर आलोचना पनि गरे । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरूले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो ।’, उहाँले भन्नुभयो, ‘विदेश जानुभन्दा स्वदेशमै केही गरौँ भन्ने भावना पहिलेदेखि नै थियो । युट्युबमा हेरेको एउटा भिडियोले मेरो जिन्दगीमा नयाँ आयाम थपिदियो ।’

रानाले १० कट्ठा जमिनमा पाँच सय बोट ड्रागन फ्रुटका बिरुवा लगाउनुभएको छ । रानाले ड्रागन खेती थालेको तीन वर्ष पुगेको बताउँदै भन्नुभयो, ‘यो अवधिमा करिब २० लाख रुपैयाँ खर्च भए पनि दुई वर्षमै लगानी उठिसकेको छ । अहिलेसम्म तीनपटक ड्रागन टिपेर बिक्री गरियो । प्रतिकिलो चार सय रुपैयाँका दरले हालसम्म २५ क्विन्टल बिक्री गरिसकेको छु ।” रानाले भन्नुभयो, ‘लगानी उठिसक्यो, अब कमाइखाने बेला भएको छ ।’

रानाले बारीमा ६ जनालाई रोजगारी दिनुभएको छ । अन्यत्रभन्दा बढी ज्याला समेत दिएको उहाँको भनाइ छ । बिचौलियाका कारण उपभोक्ता मारमा परेको बताउँदै उहाँले व्यापारीलाई भन्दा सर्वसाधारणलाई प्राथमिकता दिएर ड्रागन फ्रुट बिक्री गरिरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button