पोखरा एभेन्जरर्सको पोखरामा र्याली प्रदर्शन

पोखरा । पोखरा एभेन्जर्सले पोखरामा र्याली प्रदर्शन गरेको छ । नेपाल प्रिमियर लिगमा पोखरेलीहरूको साथ र सहयोगको अपेक्षा सहित अग्रिम रुपमा पोखरामा बिहीबार र्याली प्रदर्शन गरिएको हो ।
दक्षिण अफ्रिकाका चर्चित (लेजेन्ड) खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहाकार परामर्शदाता जोन्टी रोड्स सहित सहभागी र्यालीमा पोखरेली क्रिकेट प्रेमीहरुहरुको सहभागिता रहेको थियो । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले पोखरामा आयोजना भएको र्यालीले आफूहरूलाई हौसला मिलेको बताउनु भयो ।
नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाएको हो ।
पोखरा एभेन्जर्सले पोखरामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा जनाएका हुन् । नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको भविष्यको बाटो कोरेको जनाउँदै उनले पोखरा एभेन्जर्सले युवा खेलाडी उत्पादन गर्दै व्यावसायिक क्रिकेटलाई अघि बढाउन उद्योगको रुपमा स्थापित गर्ने बताए ।
अध्यक्ष त्रिपाठीले नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले लिएको खुलासा समेत गर्दै भने–“अहिले नै हामीले नाफा घाटाको कुरा गरेका छैनौँ । हामी व्यावसायिक क्रिकेट खेलको विकास होस भन्ने चाहन्छौँ,” उनले प्रस्ट्याउँदै भने–“यहाँ नाफा वा घाटाको विषय नै होइन । कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्छ । हामी क्रिकेट विकासका लागि आएका हौँ । हामी त्यो मार्गमा अग्रसर हुन चाहन्छौँ ।”
नेपाल हिमाल र पहाडसँग जोडिएको र यही सँग सम्बन्ध गाँस्दै यहाँको पर्यटन समेत गाँसिएको जनाउँदै अध्यक्ष त्रिपाठीले नेपाली जनजीवन र जलवायु परिवर्तनले गरेको असरका सम्बन्धमा जागरण जगाउन पोखरा एभेन्जर्सले आफ्नो जर्शी अनावरण समेत हिमाली क्षेत्रमा गरेको जनाए । उनले भने–“अहिले जलवायु परिवर्तन समस्याको रुपमा देखिएको छ । हामी क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन सँगै जलवायु परिवर्तन र हिमाली जनजीवनका देखा परेका असरहरूलाई विश्वसामु पुर्याउन चाहन्छौँ ।”
पोखरा एभेन्जर्सले पोखरा केन्द्रित प्रशिक्षण लगायतका कार्यक्रमहरू गर्ने जनाउँदै अध्यक्ष त्रिपाठीले पोखरा हिरोजका लागि मात्रै ३ सय भन्दा बढीको आवेदन आएको जनाए । टिममा प्रशिक्षक राजीव कुमार टिम सँगै रहेर काम गर्ने जनाउँदै पोखरा एभेन्जर्सले ग्रास रुट क्रिकेटको विकासमा समेत बढी ध्यान दिने बताए ।

पोखरामा आयोजित र्यालीले निकै उत्साहित भएको जनाउँदै सम्पन्न कार्यक्रमले पोखरा एभेन्जर्सका लागि फ्यान फोलोइङ बढाउन सहयोग हुने जनाए । चार विदेशी खेलाडीसहित पोखरा एभेन्जर्स टिम सन्तुलित र बलियो टिम रहेको उल्लेख गर्दै उनले पहिलो सिजनमा करिब १० करोड खर्च हुने उल्लेख गरे ।
यस्तै टिमको सल्लाहकार परामर्शदाताको रुपमा रहेको लिजेन्ड क्रिकेटर जोन्टी रोड्सले आफू पोखरा आउन पाउँदा र पोखरा एभेन्जर्स सँग जोडिन पाउँदा खुसी लागेको बताउँदै पोखरा क्रिकेट रंगशाला विश्वकै उत्कृष्ट रंगशाला भएको बताए । उनले भने–“भारतको धर्मशाला लगायतका स्टेडियम उत्कृष्ट स्टेडियम भएको सुनिन्छ । तर म भन्छु विश्वकै उत्कृष्ट क्रिकेट स्टेडियम कहीँ छ भने त्यो पोखरा स्टेडियम नै हो ।”
सबै मिलेर नै विश्वमा भयावह रुपमा रहेको जलवायु परिवर्तनको समस्या निराकरणका लागि लाग्नु पर्ने उल्लेख गर्दै नेपाली क्रिकेट खेलको विकासका लागि लगानीमा जोड दिनुपर्ने एक क्रिकेटरको नाताले सबैका लागि आफ्नो सल्लाह रहेको बताए । युवा क्रिकेटरलाई अवसर सँगै लगानी गर्न सकेमा मात्रै नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको जनाउँदै उनले भने–“नेपाली क्रिकेटको विकासमा म एक सानो हिस्साको रुपमा रहन पाउँदा खुसी लागेको छ । नेपाली क्रिकेटको भविष्य र यहाँको क्रिकेट प्रतिको मोह निकै रोचक छ ।”
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीहरूको टिमको समर्थन जुटाउन एक र्याली कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाएको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहकार परामर्शदाता जोन्टी रोड्स सहित पोखरेली क्रिकेट प्रेमीहरू र्यालीमा सहभागी थिए ।
गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा सङ्घसंस्थाले संयुक्त रुपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाएका थिए ।
राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डाका साथ पोखराको फिसटेल गेटबाट सुरु भएको र्याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमी, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङ चोक हुँदै पुनः फिसटेल गेटमा पुगेर सम्पन्न भएको थियो ।
यस अघि पोखरा स्पोर्टस सँग कुरा गर्दै पोखरा एभेन्जर्सका चेयरमेन सुबोध त्रिपाठीले नेपाली क्रिकेटमा युवाहरूको ध्यान खिच्न यस प्रकारका कार्यक्रमहरू महत्वपूर्ण रहेको जनाए । उनले भने–“आजको माहौलले नेपालको सँगै समग्र गण्डकी प्रदेशको क्रिकेट विकासमा कोशेढुङ्गा सावित भएको छ । पोखरा एभेन्जर्सलाई मायाँ र समर्थनका लागि म सम्पूर्ण प्रदेशवासीलाई आह्वान गर्दछु ।” उनले टिमका सल्लाहकार परामर्शदाता जोन्टीलाई पोखरा ल्याएर यहाँका क्रिकेट प्रेमीहरूको मनोबल उच्च बनाउने कार्य गरेको बताउँदै जोन्टीको नेपाल आगमन र टिममा सहभागिताले टिमको मनोबल समेत उच्च भएको बताए ।
यस्तै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा एभेन्जर्सलाई समर्थन गर्न आग्रह गर्दै चर्चित खेलाडी जोन्टी रोड्सको उपस्थितिले समग्र क्रिकेट खेलको विकासमा माहोल बनाउन समेत भूमिका खेल्ने बताए ।
टिमका सहायक प्रशिक्षक रिजन प्रजुले पोखरा एभेन्जर्स पूर्ण जोसका साथ एनपिएलमा सहभागिता हुने जनाउँदै लिजेन्ड खेलाडी जोन्टीको सहभागिता र उनको परामर्शले टिमको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् ।
त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपिएपल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्