वीरगंजका दर्जनबढि छठघाटको सम्पूर्ण तयारी पुरा (फोटोफिचर)
बीरगंज I राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चर्चित वीरगंजको घडीअर्वा पोखरी छठघाट सहित नगरक्षेत्रका तिन दर्जनबढि छठघाटहरुको सम्पुर्ण तयारी पुरा भएको छ ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरू पोखरी,नदी, ताल तलाउमा पुग्ने भएपछि नगरक्षेत्रका पोखरीहरूको भव्य सजावट गरिएको छ ।
वीरगंजको घडिअर्वा पोखरीस्थित छठपूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको जनाएको छ ।
छठपूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानूले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करिब १५ लाख ४१ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
त्यस्तै सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानु ले छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकमा गरी २ सय ५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट्स क्लबका ५० जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो । यस्तै छठघाट परिसरमा २० वटा भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम अवधिभर सुरक्षा लाई मध्यनजर गर्दै वारुणयन्त्र र एम्बुलेन्स सेवालाई समेत तयारी अवस्थामा राखिएको सुरक्षा संयोजक मुन्ना साहकानुले बताउनुभयो ।
यसैगरी वीरगंजको मुर्ली, नगवा, रानीघाट, राधेमाई, छपकैया, माईदिया पोखरीका छठघाटहरु समेत भव्यरुपमा सजाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्