तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा छठ पर्वको रौनक

नेपालगञ्ज । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको रौनक नेपालगञ्जमा पनि बढेको छ ।

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्रको तलाउलाई छठीघाटका रुपमा झकिझकाउ बनाइएको छ ।

हरेक वर्ष पूजा गर्नेको सङ्ख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढ्दै गएको हो । छठ पर्वमा पूजा गर्नेहरू बढ्दा केही वर्षयता नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । तलाउ क्षेत्रमा टेण्ट सजावट, बिजुली बत्तीको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाई लगायतको काम गरिएको छ ।

भोलि बिहीबार छठ पर्वको मुख्य दिन रहेको छ । भोलि छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्य र पर्सि शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिइन्छ । पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको छ ।

चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ समापन हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button