तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडको कृषि थोक बजारबाट छठका लागि साढे ३७ लाखको केरा बिक्री

भद्रपुर, झापा । छठ पूजाका लागि झापाको बिर्तामोडस्थित कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ ।

छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा विर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेका हुन् ।

छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले जानकारी दिनुभयो । उहाँले केराको घरी ३५० देखि नौ सय रुपैयाँसम्ममा बिक्री भएको बताउनुभयो ।

कृषि थोक बजारमा इलामको दानाबारी, महमाई, झापाको खुदुनाबारी, शनिश्चरेलगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । त्यहाँबाट झापाका विभिन्न ठाउँसँगै विराटनगर र काठमाडौँसम्म केरा आपूर्ति हुने गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ । व्रतालुहरूको सङ्ख्या थपिँदै गएपछि केराको माग बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button