तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवद्र्धनका लागि पोखरामा माउण्टेन क्रस कन्ट्री हुँदै,चिनिया धावक सहित १ हजार भन्दा बढी धावक सहभागी हुने

पोखरा । तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा १ हजार २ सय ६१ जना धावक सहभागी हुने भएका छन्।

आउँदो शनिबार पोखरामा हुने उक्त प्रतियोगितामा विभिन्न इभेन्टको प्रतिष्प्रर्धामा १ सय ३४ जना चाइनिज धावक सहित १ हजार २ सय ६१ जना धावकहरू सहभागी हुने भएको प्रतियोगिताका मिडिया संयोजक ई. प्रतीकराज पहरीले बताउनुभयो ।

उहाँका अनुसार ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइक्लिङ र रोइङ तर्फ टिम इभेन्टमा २७ टिमको सहभागिता हुने भएको छ । टिम समूहमा मिश्रित टिम (कम्तीमा एक विपरीत लिङ्गको सदस्य) मा ८१ जना धावकहरू सहभागी हुने भएका छन् । दौडका क्रममा खेलाडीहरूले कुल २ हजार २ सय ५८ मिटर उचाइ पार गर्नेछन् भने विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम, २२ हजार ९ सय २० रुपैयाँ रहेको छ ।

प्रतियोगितामा टिम समूह तर्फ प्रथम हुनेलाई ४ लाख ५८ हजार ४ सय रुपैंया प्रदान गरिने भएको छ । त्यसै गरी उपविजेतालाई ३ लाख ४३ हजार ८ सय रुपैयाँ, तेस्रो हुनेलाई २ लाख २९ हजार २ सय रुपैयाँ, चौथो हुने लाई १ लाख ५२ हजार ८ सय, पाँचौँ हुनेलाई ९५ हजार ५ सय रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यसै गरी च्यालेन्ज इन्डिभिजुअल समूह तर्फको प्रतिष्प्रर्धामा करिब १ सय ८० खेलाडीहरूले (जसमा ८० चिनियाँ खेलाडीहरू र १०० नेपाली  खेलाडीहरू) ५० किलोमिटरको ट्रेलमा २ हजार ३ सय ६६ मिटरको कुल उचाइ पार गर्ने भएको बताइन्छ । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति व्यक्ति, ९ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।

च्यालेन्ज इन्डिभिजुअल समूह शीर्ष दश पुरुष र महिला खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाउनु हुने भएको छ । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख ५२ हजार ८ सय रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख १४ हजार ६ सय रुपैयाँ, तेस्रो हुनेले पुरुष र महिलालाई ७६ हजार ४ सय, चौथो देखि सातौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूलाई ३८ हजार २ सय रुपैयाँ ,आठौँ देखि दशौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूलाई १९ हजार १ सय रुपैयाँ प्रदान गरिने भएको हो ।

५ किलोमिटर विद्यार्थी तर्फको सडक दौड प्रतियोगितामा करिब ५ सय जना सहभागी हुने भएको पहरीले जनाउनु भयो । बाराही घाटदेखि सुरु भई केसी निवास ड्यामसाइडसम्म, कुल दुरी ५ किलोमिटर निर्धारण गरिएको छ । त्यस्तै ह्याप्पी रन समूह यस प्रतियोगितामा करिब ५०० जना खेलाडीहरूले सहभागी हुने भएको छ भने यस तर्फ २ किलोमिटरको दुरी निर्धारण गरिएको छ । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति व्यक्ति १ हजार ९ सय १० रुपैयाँ रहेको छ ।

यस दौडले पर्यावरणमैत्री र स्वस्थ जीवनलाई जोड दिँदै खेलाडीहरूका लागी आकर्षक पुरस्कार प्रदान गर्ने भएको छ । यस अवसरमा पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुर्‍याउने र नेपाल–चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउदै लैजाने विश्वास गरिएको उक्त प्रतियोगिताका अभियन्ता विश्वशंकर पालिखेले बताउनु भयो ।

दौड तालिका अनुसार नोभेम्बर ७ (कार्तिक २२ गते) पोखरा बाहिर रहनु भएका खेलाडीहरूको आगमन, नोभेम्बर ८-कार्तिक २३ गते) खेलाडीहरूको दर्ता र आवश्यक सामाग्रीहरूको वितरण (बिहान ९ः०० बजे देखि साँझ ५ः०० बजे सम्म) नोभेम्बर ९(कार्तिक २४ गते) बिहान ८ः३० बजे प्रतियोगिता सुरु हुने भएको छ । नोभेम्बर १० (कार्तिक २५ गते) विदेशी खेलाडीहरूलाई पोखरा र यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरूको दृश्यावलोकन गराइने भएको छ । चिनियाँ खेलाडीहरूको लागि ७ नोभेम्बरमा कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिने भएको छ ।

नेपाली नागरिकहरूका लागि, सबै दौड प्रतियोगिताहरूमा, दर्ता निःशुल्क राखिएको उक्त प्रतियोगिताका मिडिया संयोजक ई.प्रतीकराज पहरीले जनाउनु भयो । विद्यार्थी दौडमा शीर्ष ६ छात्र र छात्रा विद्यार्थी खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाउने व्यवस्था गरिएको छ । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरूलाई ३० हजार, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरूलाई २५ हजार, तेस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरूलाई २० हजार, चौथो देखि छैटौँ स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरूले १० हजार प्राप्त गर्ने भएका छन्।  ह्याप्पी रन समूह यस दौड प्रतियोगितालाई पुरा गर्ने सबै जना सहभागी खेलाडीहरूले प्रमाणपत्र प्राप्त प्रदान गरिने भएको छ ।

हिमालयन टुरिजम फोरम–पोखराको आयोजनामा युन्नान माउण्टेनियरीङ र आउटडोर स्पोर्ट्स एसोसियसन, कुनमिङ माउण्टेनियरीङ र एडभेञ्चर एसोसिएसनको समन्वयमा पोखरा उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, नेपाली युवा उद्यमी मञ्च, लायन्स क्लब अफ पोखरा सेन्टिनियल, पोखरा पर्यटन परिषद्, नेपाल  चाइना जन मैत्री संघ, नेपाल पोखरा ओभरसीज चाइनिज संघ, भूतपूर्व खेलाडी मञ्च लगायतका संस्थाको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button