तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा मन्त्री खड्का र भारतका नवीन एवम् नवीकरणीय ऊर्जा मन्त्रीबिच भेट

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद वेंकटेश जोशीबिच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित भारत मण्डप केन्द्रमा आज भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, स्वच्छ ऊर्जा संक्रमण लगायतका विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिनुभयो ।

भेटमा ऊर्जा मन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण, सौर्य ऊर्जा मार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्ने लगायतमा आइएसएसँग काम गर्न आफू आशावादी रहेको बताउनुभएको थियो ।

मन्त्री खड्काले आइएसएको महानिर्देशक पदमा भारतको उम्मेदवारलाई नेपालको समर्थन रहेको बताउँदै उक्त पदमा विजयी भारतका उम्मेदवार आशिष खन्नालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

ऊर्जा मन्त्री खड्काले भारतीय मन्त्रीसमक्ष बुढीगण्डकी जलविद्युत परियोजनाको जलाशयको सतहमा एक हजार मेगावाटको फ्लोटिङ सोलार विकास गर्नका लागि आग्रह गर्नुभएको थियो । आइएसएका कार्यक्रमलाई अगाडि बढाउनका लागि आइएसए र नेपालबीच दुईदेशीय साझेदारी सम्झौतामा चाँडै हस्ताक्षर गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाई थियो ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा, दिगो विकास र नवीन सौर्य समाधानमार्फत स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी उच्चस्तरीय अध्ययन अवसर र तालिममार्फत क्षमता निर्माणमा आइएसएले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

भेटमा आइएसएका अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जा मन्त्री जोशीले नेपालमा सौर्य आयोजनालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) कोषबाट आर्थिक सहयोग गरिने बताउनुभयो ।

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंहसँगै नेपाली प्रतिनिधिमण्डल साथै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button