तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा डेंगु संक्रमण तीव्र रुपमा फैलिँदै ।

सर्लाही । सर्लाहीमा अहिले तीव्र गतिमा डेगुं रोगको संक्रमण फैलिँदै गएको छ । जिल्लामा हजारौँको सख्यामा डेंगुको संक्रमित भएपनि रेकर्ड भने १ सय बिरामीहरूको मात्र रहेको छ । बिरामीहरूमध्ये सबैभन्दा बढी संक्रमित हरिवन र लालबन्दी नगरपालिकामा रहेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताउनुभयो  ।  

सर्लाहीमा हजारौँको सङ्ख्यामा डेंगु रोगको संक्रमित व्यक्ति भएपनि पालिकाहरुले रिपोर्टिङ नगर्दा जम्मा १ सय जना सङ्क्रमितको डाटा मात्र भएको डा. झाले बताउनुभयो । सर्लाहीको २० वटै पालिकाहरुमा डेंगु रोगको संक्रमण भएको डा.झाले जानकारी दिनुभयो ।

यसैगरी लामखुटेको टोकाई बाट सर्ने यो रोग गाउँ गाउँमा तीव्र गतिले सरे पनि सरोकारवाला निकायहरू नियन्त्रण गर्नतर्फ कुनै चासो नदिएको कविलासी नगरपालिकाका स्थानीय दिनेश साहले जानकारी दिनुभयो । सबैभन्दा नजिकको स्थानीय सरकार छ, जिल्लामा स्वास्थ्य कार्यालय भए पनि लामखुट्टे मार्ने औषधी समेत नछरेको स्थानीय साहको आरोप रहेको छ । 

डेंगु संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्न अति आवश्यक देखिन्छ । एडिज जातको लामखुट्टेबाट डेंगु संक्रमण हुन्छ। लामखुट्टेको टोकाईबाट नेपालमा चार सेरोटाईपको डेंगु देखिएको छ। नेपालमा पछिल्लो समय एक, दुई र तीन सेरोटाइपको डेंगु संक्रमित बढी रहेको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल अधिकृत डा.बैजु कुशवाहाले बताउनुभयो। एकपटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुन डेंगु संक्रमण नहुने तर एकपटक डेंगु भइसकेका व्यक्तिमा पुन डेंगु संक्रमण भएमा सङ्क्रमितको अवस्था गम्भीर हुन सक्ने उहाँले बताउनुभयो ।

सकारले आगामी आर्थिक वर्ष अर्थात् २०८१/८२ का लागि स्थानीय तहमा मात्र ७ करोड ९८ लाख रुपैयाँ डेंगु नियन्त्रणका लागि छुट्टाएको छ भने मधेश प्रदेशमा १ सय ३६ पालिकाहरू मध्ये ४६ पालिकाको लागि ७४ लाख बजेट छुट्ट्याएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button